नेपालको घातक बलिङमा सस्तैमा रोकियो ओमान, जितका लागि ९५ रनको लक्ष्य
काठमाडौं : एसियन गेम्स छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले ओमानलाई सस्तैमा रोकेको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको हो।
फाइनल पुग्नको लागि ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। ओमानविरुद्ध नेपालका बलरले निकै राम्रो प्रदर्शन गरे। करण केसी र सन्दीप लामिछानेको घातक बलिङमा ओमान सस्तैमा समेटियो।
ओमानका लागि ब्याटिङतर्फ कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए। एक तर्फबाट विकेट गइरहँदा उनले भने ओमानको पारी सम्हाल्ने कोसिस गरेका थिए। उनले ४२ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। उनले सातौं विकेटका लागि अब्दुलजलील खानसँग ३० रनको साझेदारी गरे। जुबेर अलि अख्तरले २२ रन बनाए। उनले चौथो विकेटका लागि कप्तान सुफ्यान महमुददँग ३५ रनको साझेदारी गरेका थिए।
शीर्ष ३ का ब्याटर सस्तैमा पेभेलियन फर्किए। ओपनर मोहम्मद अलि अकबर ९ रनमा पेभिलियन फर्किदा अर्का ओपनर शुयब इस्मेल र वान डाउन आएका नावेद अब्दुल माजिद करण केसीको बलमा ‘डक' हुँदै डगआउट फर्किए।
अब्दुलजलील खानले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
नेपालको लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिए ।कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र साहब आलमले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !