किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै पौवादुङमा

किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै पौवादुङमा
सुन्नुहोस्

भोजपुर : केहि समय अघिसम्म पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका रामबहादुर पाण्डे १५ सयदेखि २ हजार ज्याला तिरेर बारी जोताउँथे । समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो । हप्ता दिनसम्म हलि, खेताला लगाउँदा खाना, खाजा बोक्नुपर्ने झण्झट छुट्टै थियो । तर अहिले भने उनलाई त्यो सास्ती छैन । 

आफ्नै मिनीटिलर ल्याएपछि त्यो सबै सुल्झिएको छ । गाउँपालिकाले वितरण गरेको ५० प्रतिशत अनुदानको मिनीटिलर पाएपछि उनको दैनिकी नै फेरिएको छ । कम लागतमै दिनभरको काम केहि घण्टामै सिद्धिने भएपछि आफ्नो मात्र नभई अरुको खेतबारी जोतेर राम्रै आम्दानी पनि गर्न थालेका छन् । खेतालालाई दिनुपर्ने ज्याला र खाजाखानाको खर्च पनि जोगिएको छ । ‘हल गोरु र खेतालामा व्यर्थ खर्च हुन्थ्यो, एक दिन काम पनि हप्ता दश दिन लाग्थ्यो, अहिले आफ्नै मिनीटिलर आएपछि हाईसञ्चो मिलेको छ’ रामबहादुरले सुनाए, ‘गाउँपालिकाले दिएको अनुदानको मिनीटिलरले मेरो दिन फेरिएको छ ।’

कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादन बृद्धि तथा आत्मनिर्भर बनाउने अभियानमा पौवादुङमा गाउँपालिका जुटेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पहिलो चरण अन्र्तगत एक सय ८८ थान र दोश्रो चरण अन्तर्गत एक सय ८० गरी कुल ३ सय ६८ थान मिनीटिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको छ । किसानलाई आधुनिक कृषिसँग जोड्न गाउँपालिकाले ६ वटै वडाका कृषक तथा कृषक समूहलाई कृषि उपकरण वितरण गरेको हो ।

गाउँपालिकाको ५० प्रतिशत र कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत कृषकहरूले मिनीटिलर प्राप्त गरेका हुन् । कृषि यान्त्रीकरणमार्फत परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादनमुखी कृषि प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय कृषकहरूले मिनीटिलर प्राप्त गरेपछि खेती गर्न सहज भएको बताएका छन् । श्रम, समय तथा लागत घट्दै उत्पादन वृद्धि गर्न सहयोग पुगेको पौवादुङमा गाउँपालिका–६, ठुलोदुम्माकी उत्तर कुमारी राईले अनुभव सुनाइन् । 

‘अनुदानको मिनीटिलरले खेतीबारी जोत्न सहज भएको छ, दिनभर हलगोरु खोज्नुपर्ने, खेताला र घण्टौ लगाएर काम गर्नुपर्ने झन्झट कम हुने भएको छ’ उनले भनिन्, ‘अब दिनभरको खेतबारी जोत्ने काम केहि घण्टामै सकिन्छ, न खेतालालाई खाजाभात, ज्याला दिनुपर्ने, न दिनभर घोटिनु पर्ने सास्ती ।’  
कृषिलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यसहित पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । आधुनिक कृषि उपकरणको प्रयोगले खेतीपाती सहज, छरितो र प्रभावकारी बनाउने सुनाउँदै उनले यसबाट कृषकहरूको उत्पादन तथा आयआर्जनमा उल्लेखनीय बृद्धि हुने विश्वास व्यक्त गरे ।

‘कृषिलाई आधुनिक बनाउँदै स्वरोजगार सिर्जना गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ अध्यक्ष राईले भने, ‘यसले बाँझो जमिनमा पुनः खेती विस्तार हुनेछ र गाउँबाट बढ्दो युवा पलायनलाई पनि न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौँ ।’ उनका अनुसार गाउँपालिकाको यस्ता कार्यक्रमले ताजा तरकारी, फलफूल, अन्नबाली तथा नगदेबाली उत्पादन बृद्धि गर्न सहयोग पुग्नेछ । कृषकको जीवनस्तर उकास्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउँदै आएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले चालु आर्थिक वर्षको विकास बजेटको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रमा विनियोजन गरिएको जानकारी दिए । कृषिमा यान्त्रीकरण विस्तार गर्ने उद्देश्यले ल्याइएका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको र कृषकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको सुनाए ।

उनले भने, ‘गाउँपालिकाको कृषि क्षेत्रमा गरेको यस्ता कदमले किसानलाई थप हौसला प्रदान गरेको छ ।’ गाउँपालिकाले कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउँदै किसानलाई आत्मनिर्भर बनाउने अभियानलाई अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले कृषिमैत्री कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.