सबै कुरा शून्यबाट सुरु हुँदैछ, तत्काल विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउँछु : महावीर पुन
काठमाडौं : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन लागेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थामा नभएकाले तत्काल विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरेको जानकारी गराएका हुन्।
‘पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो’ पुनले लेखेका छन्।
मन्त्रालय चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने, काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय भएको उनको भनाई छ। उनले भने, ‘यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तर्गत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानु होला।’
प्रतिक्रिया दिनुहोस !