इजरायल जान लिइने भाषा परीक्षामा जालझेलको आशंका
काठमाडौं : सरकारले जीटूजी प्रक्रियामार्फत इजरायल पठाउनका लागि लिने भाषा परीक्षामा जालझेल गरिएको आशंका गरिएको छ। वैदेशिक रोजगार विभागले यही जेठ १३, २०८३ मा एक सार्वजनिक सूचना जारी गर्दै इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा जानेहरूका लागि आवेदन खुला गरेको थियो।
नेपाल र इजरायल सरकारबीच भएको जीटूजी सम्झौताअनुसार विभिन्न सर्तहरू पूरा गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख थियो। इजरायलमा यसपटक २ हजार ३ सय नेपाली कामदार लैजाने तयारी छ। रोजगारीका लागि शैक्षिक योग्यता, उमेर, शारीरिक मापदण्ड र भाषागत क्षमतासम्बन्धी कडा मापदण्डहरू तोकिएका छन्।
इजरायल जानका लागि मुख्यतः अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। विभागको सूचनाअनुसार, उम्मेदवारले अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्रका रूपमा इजरायलले तोकेको इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले लिने परीक्षामा तोकिएको न्यूनतम अंक ल्याएर उत्तीर्ण हुनुपर्छ।
त्रिपुरेश्वरमा सञ्चालन भइरहेको परीक्षामा सहभागीहरूले व्यवस्थापनमा प्रश्न उठाउँदै विरोध प्रदर्शन गरेका छन्। परीक्षार्थीहरूको विरोध जारी रहेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापन फितलो भएको र परीक्षा शुल्कसमेत बढी भएको भन्दै परीक्षार्थीहरू मंगलबार आन्दोलनमा उत्रिएका थिए।
परीक्षार्थीहरूले परीक्षाका लागि तोकिएको ५ हजार रुपैयाँ निकै महँगो भएको, सीआईआईएनको व्यवस्थापन अस्तव्यस्त रहेको तथा हल्लाखल्ला र अवरोधका कारण परीक्षा दिने वातावरण नभएको, परीक्षार्थीका लागि आवश्यक कम्प्युटर, हेडसेट, भौतिक पूर्वाधार र प्रविधि पर्याप्त नभएको
गुनासो गरेका छन्।
इजरायल रोजगारीका लागि सीआईआईएनले लिने परीक्षा दिन दैनिक सयौंको संख्यामा आवेदन परिरहेको छ। विरोध प्रदर्शन भएपछि सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन प्राइभेट लिमिटेडले सूचना जारी गर्दै परीक्षा स्थगित भएको जानकारी दिएको थियो। यद्यपि, जेठ २७ गते बुधबार जारी गरिएको अर्को सूचनामा भनिएको छ— २६ र २७ गते स्थगित भएका परीक्षाहरू समय निर्धारण गरी पुनः सञ्चालन गरिएको छ।
वैदेशिक रोजगार विभागकी इजरायल शाखा प्रमुख राजेश्वरी सापकोटाले स्थगित भएका र बाँकी रहेका परीक्षाहरू समयमै सम्पन्न गराउन विभागले बुधबार निर्देशन दिइसकेको जानकारी दिइन्। परीक्षार्थीले इजरायल सरकारले तोकेको र अनुमति दिएको संस्थाले लिने परीक्षा नै उत्तीर्ण गर्नुपर्ने कानुनी व्यवस्था रहेको उनले प्रस्ट पारिन्। वैदेशिक रोजगार विभागकी प्रवक्ता वृन्दा आचार्यले भाषा परीक्षामा भएका कमजोरी सच्याएर काम गर्न निर्देशन दिइएको बताइन्।
उनले भनिन्, ‘यो अंग्रेजी भाषा परीक्षा इजरायल सरकारले नै तोकेको हुनाले नेपाल सरकारले चाहेर मात्र यसलाई परिवर्तन गर्न सक्दैन। जीटूजी सम्झौतामै उल्लेख भएको भाषा परीक्षा त उत्तीर्ण गर्नैपर्छ।’ अनलाइन आवेदनमा बारम्बार समस्या आउँदा समयमा आवेदन दिन नपाएको परीक्षार्थीहरूको गुनासो छ। सीआईआईएनका अनुसार, हरेक दिन १ हजारदेखि १५ सयसम्म आवेदकले अनलाइन आवेदन दिँदा सर्भरमा अत्यधिक लोड पर्न गई प्रणाली सुस्त भएको हो।
प्रतिक्रिया दिनुहोस !