गर्मीमा राहत, लामखुुट्टे अलप

गर्मीमा राहत, लामखुुट्टे अलप
सुन्नुहोस्

नेपालगन्ज : दिनप्रतिदिन तापक्रम बढ्दो छ। आगोझै पोल्ने गर्मी छ। शरीरबाट पसिनाका धारा झै बग्ने गर्छन्। गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। तर यही चर्को गर्मीका कारण लामखुट्टेबाट भने नेपालगन्जवासीले मुक्ति पाएका छन्। सञ्जीवनी मेडिकल कलेज, नेपालगन्जका प्रशासन विभाग प्रमुख कुमार अधिकारी यतिबेला गर्मीबाट राहत पाएको बताउँछन्। उनको राहतको कारण भने गर्मी कम हुनु होइन, बरु लामखुट्टे हराउनु हो।

‘राति लामखुट्टेले टोकेर सुत्नै सकिँदैनथ्यो। बैठक कोठा होस् वा शयनकक्ष, किचेन होस् वा बाथरुम, घरभित्र र बाहिर जता पनि लामखुट्टेकै बिगबिगी थियो,’ अधिकारी भन्छन्, ‘अहिले त एउटा लामखुट्टे पनि देखिँदैन। गर्मीले अरू समस्या बढाए पनि लामखुट्टे भने लगभग सखाप पारेको छ।’
उनका अनुसार पछिल्ला केही दिनयता लामखुट्टेको संख्या उल्लेख्य रूपमा घटेपछि डेंगु, इन्सेफ्लाइटिसलगायत लामखुट्टेको टोकाइबाट सर्ने रोगको जोखिम पनि कम भएको महसुस गरिएको छ। ‘पहिले झुल नटाँगी सुत्नै सकिँदैनथ्यो। कहिले लामखुट्टे धुप बाल्नुपथ्र्यो, धुपको धुवाँले आँखा र नाक पोल्थ्यो,’ उनले भने, ‘ती सबै झन्झट हटेका छन्। यसले पैसा पनि बचाएको छ।’

अधिकारीमात्र होइनन्, नेपालगन्ज बेलासपुरका राजेन्द्र केसी पनि लामखुट्टे हराएपछि राहत महसुस गरिरहेको बताउँछन्। ‘गर्मी सहन कठिन छ। तर पहिलेझै लामखुट्टेको टोकाइबाट मरिने हो कि भन्ने डर छैन, कोठा र बिस्तरा तातै भए पनि राति ढुक्कसँग सुत्न पाइएको छ।’ केसी भन्छन्।
कर्णाली प्रदेशको पहाडी जिल्लाबाट नेपालगन्ज झरेकी दुर्गा सलामी मगरले तराईको चर्को गर्मी र लामखुट्टेले पुर्‍याउने यातना सहँदै आएकी थिइन्। पछिल्ला केही दिनयता भने उनलाई एउटा अनपेक्षित राहत मिलेको छ। लामखुट्टे लगभग हराएपछि राति झुल टाँग्नुपर्ने बाध्यता हटेको छ।
‘अहिले झुल टाँग्नै परेको छैन,’ उनले भनिन्, ‘यो गर्मीमा झुलले थोरै भए पनि हावा छेक्थ्यो। झुल नटाँगी खुला रूपमा सुत्न पाइरहेका छांै। त्यसैले पनि केही राहत पुगेको छ।’

उनका अनुसार असह्य गर्मीले दैनिक जीवन कठिन बनाए पनि लामखुट्टेको हैरानी कम भएपछि रातको निद्रा भने पहिलेभन्दा सहज भएको छ। गर्मीको पीडाबीच लामखुट्टे हराउनु उनका लागि सानो भए पनि सुखद अनुभूति बनेको छ।

किट विज्ञहरूका अनुसार लामखुट्टेले मानिसको सासबाट निस्कने कार्बन डाइअक्साइड, पसिना र छालाबाट निस्कने गन्धका आधारमा मानिसको उपस्थिति थाहा पाउँछन्। यसका लागि लामखुट्टेको एन्टिना र मुखको वरिपरि विशेष प्रकारका सेन्सरहरू हुन्छन्। जसले टाढैबाट मानिसको उपस्थिति पत्ता लगाउँछन्। रोचक पक्ष त के छ भने मानिसले श्वास फेर्दा फाल्ने कार्बनडाई अक्साइडलाई लामखुट्टेले करिब ३० देखि १०० फिट टाढाबाटै थाहा पाउन सक्छन्। जसले गर्दा लामखुट्टे मानिसको नजिक आउन थाल्छन्। अर्कोतर्फ लामखुट्टेको एन्टिनामा करिब ७० भन्दा बढी प्रकारका गन्ध थाहा पाउने ‘ओल्फ्याक्ट्री रिसेप्टर्स’ हुन्छन्। यसले मानिसको पसिनामा पाइने ल्याक्टिक एसिड, अमोनिया र अन्य रसायनहरूको गन्ध पहिचान गर्छ।

त्यतिमात्र हैन जब लामखुट्टे मानिसको करिब २० फिटनजिक पुग्छन् त्यसपछि शरीरको तापक्रम र मानिसको शरीरको आकार देखेर कहाँ बस्ने भन्ने निर्णय गर्छ। लामखुट्टेले केही मानिसलाई किन बढी टोक्छन् ? किनकि सबै मानिसको शरीरको गन्ध र रगतको प्रकृति एउटै हुुदैन। लामखुट्टेलाई बढी आकर्षित गर्ने कारणहरू हुन्छन्।

खासगरी पसिना प्रमुख कारण हो। बढी पसिना आउने र पसिनामा ल्याक्टिक एसिड बढी हुने मानिसलाई लामखुट्टेले छिटो पत्ता लगाउँछन्। अर्को कारण हो, रक्त समूह। केही अनुसन्धान अनुसार ‘ओ’ ब्लड ग्रुप भएका मानिसलाई लामखुट्टेले बढी रुचाउँछन्। लुगाको रङ पनि आकर्षणको थप करण हो। लामखुट्टे गाढा रङ, विशेषगरी कालो र रातोप्रति बढी आकर्षित हुने गरेको किट विज्ञहरूको भनाइ छ।

लामखुट्टे चिसो रगत हुने जीव हुन्। जसको शरीरको तापक्रम बाहिरी वातावरणमा निर्भर हुन्छ। ४० डिग्रीभन्दा माथिको तापक्रमले गर्दा उनीहरूको शरीरबाट पानी छिटो सुक्छ अनि मर्ने जोखिम हुन्छ।

‘लामखुट्टेका लागि उपयुक्त तापक्रम २१ देखि २६ डिग्री सेल्सियस हो। तापक्रम ३२ डिग्रीभन्दा माथि जान थालेपछि उनीहरू सुस्त हुन्छन्। ४० देखि ४१ डिग्री पुुग्दा उनीहरू उड्न वा सिकार खोज्न सक्दैनन्’ भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘अत्यधिक चिसोमा पनि निष्क्रिय हुन्छन्। अहिले तापक्रम पनि अत्यधिक छ। कतै पानी जमेको पनि छैन। कतै ओसिलो ठाउँ छैन। अति तातो भएकाले अन्डा पार्ने ठाउँसमेत छैन। प्रजननका लागि यो मौसम निकै प्रतिकूल भएको छ। त्यसैले लामखुट्टे कम भएका हुन्।’

अर्कातर्फ चर्को घाम र तातो हावा (लू) बाट बच्न लामखुट्टेहरू झाडी, चिसो ओस भएको ठाउँ, घरका अँध्यारा कुना वा ढलजस्ता ओसिलो ठाउँमा लुकेर बस्छन्। तसर्थ, दिउँसोको चर्को गर्मीमा लामखुट्टेहरू हराएजस्तो देखिए पनि तापक्रम घटेर साँझ परेपछि वा शीतल भएपछि पुनः सक्रिय हुने गर्छन्। तर नेपालगन्जमा मध्यरातसम्म पनि घरभित्रका कोठाको तापक्रम नघट्ने भएकाले लामखुट्टे देखिन छोडेको चिकित्सकहरू बताउँछन्।

नेपालगन्जमा वर्षा भएको छैन। जसले गर्दा वातावरण शीतल हुन सकेको छैन। अत्यधिक गर्मीका कारण लामखुट्टेको सक्रियता र बाँच्ने वातावरण प्रभावित हुँदा पछिल्ला दिनमा तिनको संख्या घटेको हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्यकर्मीहरू भने अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, घाममा कम निस्कने र आवश्यक सावधानी अपनाउन सुझाव दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.