बर्दिबासको इतिहास बोकेको ‘शंकर दाइको चिया’

बर्दिबासको इतिहास बोकेको ‘शंकर दाइको चिया’

बर्दिबासमा रहेको ७१ वर्षीय शंकर थापाको ‘थापा चिया पसल’ स्थानीयको सुख–दुःख साट्ने चौतारोमात्र होइन, दुनियाँका खबर थाहा पाउने अड्डा पनि हो।

बर्दिवास : मुजा परेको अनुहार, मधुर बोली र बोलीमा घोलिएको आत्मीयता। शंकर दाइको चिया भनेपछि जोकोहीको मुखबाट सहजै निस्कन्छ—‘आहा !’ सुप्प–सुप्प पार्दै चिया पिउँदा, गफ–गाफ गर्दै बस्दा, दुःख होस् वा सुख, मिलन होस् वा बिछोड—शंकर दाइको चिया सधैं साथमा हुन्छ। मन बुझाउने उनै शंकर दाइको ‘थापा चिया पसल’ बर्दिबासको परिचित थलो बनेको छ।

महोत्तरीको बर्दिबास गाउँबाट सहर बन्दै गरेको बिस्तारित रूप हो। यही बर्दिबासका भित्री गल्लीहरूमा अझै पनि एउटा परिचित अनुहार भेटिन्छ—७१ वर्षीय शंकर दाइ।

पशुपतिनगरका भीमबहादुर आलेका लागि यो मनको खुसी साट्ने चौतारी हो। कुर्महरी सुवेदीका लागि गाउँघरका खबर सुन्ने–सुनाउने दलान। तीन दशकभन्दा बढी समयको अन्तरालमा शंकर दाइको चिया पसलमा बसेर धेरै इतिहासका साक्षी बनिएको छ। माओवादी जनयुद्ध चर्किएको खबर यहीँ सुनियो। राजाले राजगद्दी त्यागेको समाचार यहीँ बसेर अखबारमा पढियो। गणतन्त्र आएको खुसी साटियो। पछिल्लो समय बालेन शाहको राजनीतिक सम्भावनादेखि राष्ट्रिय राजनीतिसम्मका चर्चा पनि यही चिया गफमा हुन्छन्। यस अर्थमा शंकर दाइको चिया पसल देशको इतिहासको मौन साक्षी बनेर उभिएको छ भने शंकर दाइ त्यसका जीवित पात्र हुन्।

१२ हजार वर्ष पुरानो रातु नदी सभ्यताको किनारबाट बग्ने नदीमा कति पानी बग्यो, बग्यो। तर शंकर दाइ भने अझै पनि चियाको सुगन्ध र मानिसको हाँसोसँगै टिकिरहेका छन्, बाँचिरहेका छन् र रमाइरहेका छन्,—अविराम। तीन दशकभन्दा बढी समयदेखि चिया पकाउँदै, गिलास थमाउँदै र मानिसको मन बुझ्दै उनको जीवन बितिरहेको छ। पसलको एक छेउमा राखिएको कुर्सी न कहिले खाली हुन्छ न त चिया पकाउने भाँडो कहिल्यै चिसो हुन पाएको छ।

गरिबीका ती दिन सम्झँदा शंकर दाइको मन भक्कानिन्छ।‘कति दुःख थियो त,’ उनी भन्छन्, ‘तर मान्छेले मान्छेलाई बुझ्ने समय थियो।’उनको आँखाको डिलबाट खस्न खोजेका आँसु टिलपिल टिलपिल गर्छन्। उनलाई थाहा छ, त्यो केवल दुःखको अभिव्यक्ति मात्र होइन, बितेका दिनहरूको यथार्थ पनि हो।

आजका पुस्ताले कल्पना गर्न पनि गाह्रो होला, एक समय बर्दिबासमा पैसाले मात्र होइन, भोगाईले पनि पानी किन्नुपथ्र्यो। त्यही बेला शंकर दाइले चिया पसल खोले।किनभने बर्दिबासलाई चिया मात्र होइन, पानी पनि आवश्यक थियो। उनले बस्ती नजिकैको खोल्सामा कुवा खने। बिहानदेखि बेलुकासम्म त्यहीँबाट पानी बोकेर ल्याउने र गौरीबास, पाटु, तुलसी तथा बर्दिबास हुँदै ओहोरदोहोर गर्ने यात्रुलाई निःशुल्क पिउन दिने उनको दैनिकी थियो। त्यो कुनै अभियान थिएन, मानवीयता र सामाजिक उत्तरदायित्वको अभ्यास थियो। उनले त्यही कुवाको आसपास रहेको देउराली विद्यालय परिसरमा शिव मन्दिर निर्माण गर्न पनि सहयोग गरे।

त्यतिबेलाको दुःख कम थिएन। जुन बाटोबाट बिरामी बोकेर अस्पताल लगिन्थ्यो, त्यही बाटोमा कतिपयले अन्तिम सास पनि फेर्थे। भिमान–सिन्धुलीतिरबाट बिरामी ल्याएर जनकपुर पु¥याउन नपाउँदै बाटोमै मृत्यु हुने घटना सामान्यजस्तै थिए। सडकको अवस्था कमजोर थियो, सवारीसाधन पनि अहिलेझैं सहज थिएनन्।ती दृश्य आज पनि उनको स्मृतिमा ताजै छन्।‘लास रातुखोलामा जलाउनुपथ्र्यो,’ उनी सुस्त भन्छन्।

मानिसको मृत्युबारे उनको यो स्वीकारोक्ति जति सरल छ, त्यति नै सात्विक पनि। शंकर दाइ भन्छन्, ‘चिया पसलले छोराछोरीलाई पढायो, घर धान्यो, जीवन चलायो। यसले समाजको विकासमा कति योगदान गर्‍यो, त्यो मलाई थाहा छैन। मैले त आफ्नो कर्म गरेँ।’ कसैले यसलाई व्यापार भन्छन्, तर उनी यसलाई कर्तव्य मान्छन्।

उनका ६ सन्तानमध्ये एक जना स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्, अर्की एचए (हेल्थ असिस्टेन्ट) बनेकी छन्। अन्य सन्तानलाई पनि उनले शिक्षित बनाए र सबैको विवाह सम्पन्न गरिदिए।

आर्थिक अवस्था कमजोर भए पनि उनको आशा बलियो थियो। किराना पसल छाडेर उनले चिया पसल थाले। चियाले बिस्तारै धेरैको मन जित्यो। बिहानैदेखि ग्राहकको भीड लाग्न थाल्यो। समयसँगै त्यो चिया पसल एउटा इतिहास बन्यो—शंकर दाइको चिया।

चिया पसलका भित्तामा टाँसिएका पुराना पत्रिका कटिङहरू कसैका लागि फोहोर लाग्न सक्छन्। तर, शंकर दाइका लागि ती इतिहासका चम्किला धर्का हुन्। उनी समय संकलन गर्छन्। ती कटिङहरूमा बर्दिबासको परिवर्तन, राजनीति, दुर्घटना, उत्सव र मानिसका कथाहरू कैद छन्।
हामी त्यसलाई ‘संघर्ष’ भन्छौँ। उनी भने सरल रूपमा भन्छन्, ‘यो त हाम्रो जीवन हो।’

सबैभन्दा भावुक कुरा उनले एउटा छोटो वाक्यमा व्यक्त गरे—
‘हात, खुट्टा र जागर चलेसम्म यही चिया पसल चलाउँछु।’
कति सरल! कति गहिरो! कति अटल!

किनभने केही मानिसहरू कहिल्यै अवकाश लिँदैनन्। उनीहरू बाँच्न छाड्दैनन्। उनीहरूले जीवनलाई निरन्तरता दिइरहन्छन्। बर्दिबास अहिले गाउँबाट सहर बन्ने यात्रामा छ। राति बत्ती बल्छन्, सडक फराकिला भएका छन्, घरहरू अग्लिएका छन्। तर, शंकर दाइजस्ताले बोकेको बर्दिबास भने आँखाले देख्न सकिँदैन। त्यो मानिसहरूको सम्बन्धले बनेको बर्दिबास हो। चियाको सुगन्धले बाँधिएको बर्दिबास हो। पानीको सेवाले जोडिएको बर्दिबास हो।‘सहर भवनले होइन, मान्छेले बनाउँछ।’ शंकर दाइ त्यस्ता मान्छेमध्येका एक प्रतिनिधि पात्र हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.