कांग्रेसको प्रश्न-अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइको विषय के हो ? (भीडीयो)
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइएको भन्ने विषयप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको फेसबुक लाइभमार्फत सार्वजनिक भएको विषय उठाउँदै गम्भीर आरोप लगाएका हुन्।
उनले भने, 'संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर,त्यहीँबाट पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइयो भन्ने कुरा बाहिरिएको छ। पक्राउ पुर्जी जारी नगरे प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने धम्की दिइएको भन्ने आरोप पनि सार्वजनिक भएको छ। यो विषय सत्य हो भने यसको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ। होइन भने प्रधानमन्त्रीज्यू सदनमा उपस्थित भएर यसबारे जानकारी गराउनुपर्छ।'
सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएकाले त्यसका आफ्नै संवैधानिक अधिकार रहेको पनि उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !