टिपर आतंक बढेको भन्दै स्थानीय आन्दोलित
रौतहट : टिपर आतंकका कारण स्थानीयले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै विरोध सुरु भएको छ। टिपरको आतंक, सडकको दुर्दशा तथा लगातार भइरहेका दुर्घटनाको विरोधमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।
जिल्लाको गढिमाई र गरुडा नगरपालिकाको बेवास्ताका कारण गरुडा–समनपुर सडकखण्ड अन्तर्गत चाँदी पुल नजिक सोमबार बिहानदेखि स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजाम गरेका छन्।
बिहान ६ बजेदेखि सुरु भएको आन्दोलनका कारण दर्जनौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ पुग्न सकेका छैनन्। प्रायः क्रसर उद्योगकै टिपरले मान्छे मार्ने गरेको र बाटो समेत बिगार्दा पनि पालिका मौन बसेकाले आन्दोलन सुरु गर्नुपरेको स्थानीय जोगेन्द्र सहनी बताउँछन्।
क्रसर उद्योगसँग सम्बन्धित टिपरहरूले क्षमताभन्दा बढी भार बोकेर नदीजन्य पदार्थ ढुवानी गर्दा गरुडा–समनपुर सडकखण्ड जीर्ण बनेको छ। सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा दुर्घटनाको जोखिम समेत बढेकाले टिपर आतंक रोक्न आन्दोलनमा उत्रिनु परेको आन्दोलनकारीको भनाइ छ।
मलाही गाउँका सहनीले क्रसर व्यवसायी तथा टिपर सञ्चालकको लापरबाहीका कारण सडक सञ्जाल ध्वस्त बन्दै गएको र स्थानीय जनजीवन प्रभावित भएपछि आन्दोलन गर्न बाध्य भएको बताए।
हालै भएका दुई छुट्टाछुट्टै दुर्घटनाले स्थानीयमा झन् आक्रोश बढाएको छ। गत जेठ २७ गते टिपरको ठक्करबाट मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको थियो भने असार २ गते कटहरिया निवासी शेख सोयलले पनि ज्यान गुमाउनु परेको थियो।
प्रतिक्रिया दिनुहोस !