५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
चितवन : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन्।
रास्वपा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन्। भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित 'टाइगर सेन्चुरी' निर्माण स्थलको स्थलगत अवलोकन गरेकी छन्। सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ। देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएको छ।
तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ। मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्या-पर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफल समेत गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !