तेलको मूल्यको भविष्य के चीनमा निर्भर हुन सक्छ ? यस्तो छ ‘अदृश्य हात’

तेलको मूल्यको भविष्य के चीनमा निर्भर हुन सक्छ ? यस्तो छ ‘अदृश्य हात’

चीन : अमेरिका र इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र मध्यपूर्वी तेलको आपूर्ति सामान्य बनाउने विषयमा छलफल गरिरहेका बेला तेल बजारको आगामी दिशा भने वार्तामा प्रत्यक्ष सहभागी नभएको एउटा देश चीनमा निर्भर हुन सक्ने देखिएको छ ।

विश्वको दोस्रो ठूलो कच्चा तेल उपभोक्ता चीनले इरान युद्धका कारण दैनिक १ करोड १० लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति प्रभावित भएपछि ऊर्जा सुरक्षाका लागि सबै सम्भावित उपाय अपनाएको छ । आयात घटाउने, विशाल तेल भण्डार प्रयोग गर्ने तथा स्वच्छ ऊर्जाको प्रयोग बढाउने नीतिका कारण चीनले घरेलु बजारमा मूल्यवृद्धिको असरलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको छ । चीनका यी कदमहरूको प्रभाव विश्वव्यापी तेल बजारमा पनि परेको छ ।

तीन महिनाभन्दा बढी समयदेखि जारी युद्धका कारण केही विश्लेषकहरूले यस वर्ष तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने अनुमान गरेका थिए । तर, कुल आपूर्ति घाटा १ अर्ब ब्यारेलभन्दा बढी पुगे पनि कच्चा तेलको मूल्य अपेक्षाकृत नियन्त्रणमै रह्यो । धेरै विश्लेषकहरूका अनुसार यसको मुख्य कारण चीन हो ।

ऊर्जा अनुसन्धान संस्था एम्बरका प्रमुख विश्लेषक डान वाल्टरले भने, ‘चीनले एशियालाई मात्र होइन, समग्र विश्व अर्थतन्त्रलाई नै झट्काबाट जोगाउने महत्वपूर्ण भूमिका खेलेको छ ।’ सोमबार विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७८ डलरभन्दा तल झर्‍​यो । हर्मुज जलडमरूमध्य चाँडै सामान्य सञ्चालनमा फर्किने अपेक्षाले मूल्य घटेको हो । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि ब्रेन्ट क्रुड ७० डलरभन्दा तल कारोबार भइरहेको थियो भने मे महिनाको सुरुआतमा यो चार वर्षयताकै उच्च ११४ डलर प्रतिब्यारेल पुगेको थियो ।

चीनको ‘अदृश्य हात’
यस महिनाको सुरुआतमा सोसाइटी जेनेरेटका विश्लेषकहरूले प्रकाशित गरेको अध्ययनअनुसार सन् १९७३ को अरब तेल नाकाबन्दीका बेला विश्व आपूर्तिमा ७ प्रतिशत कमी आउँदा तेलको मूल्य १३४ प्रतिशतले बढेको थियो । तर इरान युद्धका क्रममा विश्व आपूर्तिको करिब १४ प्रतिशत प्रभावित हुँदा पनि मूल्य त्यति धेरै बढेन । विश्लेषकहरूका अनुसार बजारलाई सन्तुलनमा राख्ने ‘अदृश्य हात’ चीन नै हो । चीनले आफ्नो तेल आयात दैनिक करिब ३० लाख ब्यारेलसम्म घटाउन सफल भएको छ, जुन मात्रा जापानको कुल तेल मागसँग लगभग बराबर हो ।

चीनले कसरी घटायो खपत ?
युद्धअघि चीनले रुस र इरानबाट सस्तो दरमा प्राप्त हुने प्रतिबन्धित तेलको प्रयोग गर्दै ठूलो परिमाणमा तेल सञ्चिति निर्माण गरिरहेको थियो । विश्लेषकहरूका अनुसार चीनसँग अहिले व्यापारिक तथा रणनीतिक भण्डारमा १ अर्ब ब्यारेलभन्दा बढी तेल सञ्चित छ, जसको प्रयोग उसले मे महिनादेखि सुरु गरिसकेको छ । रिस्टाड इनर्जीका जनिभ शाह भन्छन्, ‘अघिल्ला वर्षहरूमा चीनले मूल्यलाई माथि टिकाइराख्ने काम गथ्र्यो, तर यस वर्ष त्यो प्रवृत्ति उल्टिएको छ ।’

सरकारले डिजेल र पेट्रोल जस्ता प्रशोधित इन्धनको निर्यात पनि सीमित गरिदिएको छ, जसले घरेलु आपूर्ति सुरक्षित राख्न मद्दत गरेको छ । यसका कारण चिनियाँ रिफाइनरीहरूले अन्तर्राष्ट्रिय बजारबाट थप कच्चा तेल खरिद गर्ने आवश्यकता कम भएको छ ।

विद्युतीय सवारीसाधनको प्रभाव
चीनमा विद्युतीय सवारीसाधन (इभी) को तीव्र विस्तारले पनि तेलको माग घटाउन ठूलो भूमिका खेलेको छ । हाल चीनमा बिक्री हुने प्रत्येक दुई नयाँ यात्रुवाहक गाडीमध्ये एक नयाँ ऊर्जा सवारीसाधन हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्ष चीनका इभीहरूले दैनिक करिब १० लाख ब्यारेल तेलको खपत प्रतिस्थापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.