फेरिँदो मौसममा स्वस्थ रहौं
वर्षायाम कसैका लागि समस्या निम्त्याउने समय पनि हो। यो याम जोर्नी र मांसपेशी दुखाइको कारण बन्न सक्छ। किन यस्तो हुन्छ ? यही प्रश्नबाट मानव जीवन, प्रकृति र स्वास्थ्यबिचको गहिरो सम्बन्धको चर्चा सुरु हुन्छ।
होमियोप्याथी चिकित्सा यही सम्बन्धलाई बुझ्ने विज्ञान हो। यसले रोगको नाम मात्र होइन, रोगीको सम्पूर्ण जीवन, उसको शरीर, मन, भावना, सामाजिक अवस्था, वातावरण र प्रकृतिसँगको सम्बन्धलाई अध्ययन गरेर उपचार गर्ने प्रयास गर्दछ। होमियोप्याथी चिकित्सा डा. सेमुयल हेनिमेनद्वारा सन् १७९६ मा प्रतिपादित चिकित्सा पद्धति हो, जुन ‘सिमिलिया सिमिलिबस क्युरेन्चर’ अर्थात् ‘समानताले समानताको उपचार’ भन्ने सिद्धान्तमा आधारित छ। यसको मुख्य उद्देश्य रोग होइन, रोगीको उपचार गर्नु हो।
होमियोप्याथीका अनुसार एउटै रोग भएका सबै व्यक्तिहरू समान हुँदैनन्। एउटै रोग भए पनि प्रत्येक व्यक्तिको शारीरिक बनावट, मानसिक अवस्था, भावनात्मक प्रतिक्रिया, मौसमप्रतिको संवेदनशीलता, खानपान, निद्रा, व्यवहार र सामाजिक परिस्थिति फरक हुन्छ। यही विशिष्टताको आधारमा औषधि चयन गरिन्छ।
प्रकृति र स्वास्थ्यको सम्बन्धः विश्वको प्राण मानिने सूर्यको धार्मिक ग्रन्थहरूमा पूजा गरिएको छ। यही सूर्यको अत्यधिक तापले गर्मीयाममा ‘लू’ निम्त्याउँछ। कतिपय मानिस यसबाट गम्भीर रूपमा प्रभावित हुन्छन् भने कतिपयलाई खासै असर पर्दैन। त्यसैगरी हिमाली क्षेत्रमा परेको हिमपातको प्रभावले तराई–मधेसतिर चिसो हावा चल्छ। यसबाट केही मानिसलाई रुघाखोकी, हाच्छ्युँ, नाक बग्ने, आँखा चिलाउने वा छातीमा समस्या हुन्छ भने अरूलाई केही हुँदैन। प्रकृतिको प्रभाव केवल शरीरमा मात्र होइन, मनमा पनि पर्छ। पूर्णिमाको दिन समुद्रमा ज्वारभाटा आउने कुरा वैज्ञानिक रूपमा स्वीकार गरिएको छ। धेरै मानिसहरू पूर्णिमा वा औंसीको समयमा आफ्नो मानसिक अवस्था, निद्रा, भावनात्मक संवेदनशीलता वा व्यवहारमा परिवर्तन अनुभव गरेको बताउँछन्। कतिपयमा उत्साह, सिर्जनशीलता, कविता लेख्ने, गीत गाउने, घुम्ने वा रमाइलो गर्ने इच्छा बढ्छ भने केही संवेदनशील व्यक्तिहरूमा मानसिक अस्थिरता वा अन्य समस्या पनि देखा पर्न सक्छ।
सामाजिक जीवन र मानसिक स्वास्थ्यः मानव जीवन केवल प्रकृतिको प्रभावबाट मात्र होइन, सामाजिक परिस्थितिबाट पनि प्रभावित हुन्छ। कल्पना गरौं त, आमाबाबुको अत्यन्त माया–ममतामा हुर्किएकी छोरी विवाहपछि नयाँ घर, नयाँ परिवार, नयाँ वातावरण र नयाँ जिम्मेवारीमा पुग्छिन्। आफूलाई कसरी अनुकूल बनाउने ? नयाँ परिवारका सदस्यसँग कसरी व्यवहार गर्ने ? उनीहरूले आफूलाई कसरी स्वीकार्छन् ? यस्ता अनेक प्रश्नहरूले उसको मनमा तनाव, आशा, डर र उत्सुकता एकसाथ पैदा गर्न सक्छन्। यो सामाजिक प्रभाव हो। यस्तै प्रभाव कर्मचारीको सरुवा, आर्थिक समस्या, पारिवारिक कलह, प्रेम–वियोग, एक्लोपन, असफलता वा अत्यधिक जिम्मेवारीका कारण पनि देखिन्छ। यी सबै अवस्थाहरूले शरीर र मन दुवैमा असर पार्छन्।
मानव शरीर हाड, छाला र मासुको थुप्रो मात्र होइन। यसमा मन, बुद्धि, चित्त, भावना र चेतनाको पनि अस्तित्व छ। प्रकृतिमा पाइने प्रत्येक तत्व कुनै न कुनै रूपमा मानव शरीरमा विद्यमान छ। त्यसैले मानिस देश, काल र वातावरणको प्रभावबाट पूर्णरूपमा अलग भएर बाँच्न सक्दैन। मौसम परिवर्तन, सूर्यको ताप, चन्द्रमाको अवस्था, हावा, आहार, सामाजिक सम्बन्ध, मानसिक तनाव र जीवनशैलीले शरीर र मनमा निरन्तर क्रिया–प्रतिक्रिया उत्पन्न गरिरहन्छ। यही निरन्तर अनुकूलनको प्रक्रिया नै हाम्रो जीवन हो। जीवनीशक्ति के हो ? होमियोप्याथी दर्शनमा शरीरभित्र एउटा सूक्ष्म नियामक शक्ति रहेको मानिन्छ, जसलाई ‘जीवनीशक्ति’ भनिन्छ। यसको काम शरीरलाई सन्तुलनमा राख्नु, वातावरणसँग अनुकूल हुन मद्दत गर्नु र स्वास्थ्य कायम राख्नु हो। होमियोप्याथीको उद्देश्य यही स्वाभाविक अनुकूलन तथा स्व–नियमन क्षमतालाई प्रोत्साहित गर्नु हो। यसले व्यक्तिको समग्र अवस्थालाई ध्यानमा राखेर उपचार गर्ने प्रयास गर्दछ।
होमियोप्याथीमा मोडालिटीः होमियोप्याथीमा ‘मोडालिटी’ अत्यन्त महत्त्वपूर्ण अवधारणा हो। यसको अर्थ— कुनै रोग वा लक्षण कुन अवस्थामा बढ्छ, घट्छ वा बिरामीले आफूलाई राम्रो वा नराम्रो महसुस गर्छ भन्ने हो। उदाहरणका लागिः कसैको जोर्नी दुखाइ वर्षामा बढ्छ, कसैको चिसो हावामा बढ्छ। कसैलाई तातोले राहत दिन्छ, कसैलाई हिँड्दा राम्रो हुन्छ भने आराम गर्दा खराब हुन्छ। कसैको समस्या बिहान बढी हुन्छ, कसैको राती। दुई जना बिरामीलाई एउटै रोग भए पनि यी मोडालिटी फरक हुन सक्छन्। होमियोप्याथीमा यही भिन्नता औषधि चयनको महत्त्वपूर्ण आधार बन्छ।
आधुनिक जीवनशैली र स्वास्थ्यः आजको युगमा मानिस प्रकृतिसँग भन्दा प्रविधिसँग बढी जोडिएको छ। मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल, प्रतिस्पर्धात्मक जीवन, अनिद्रा, तनाव, आर्थिक दबाब र सामाजिक एक्लोपनले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेका छन्। धेरै मानिसहरूमा आजकल निद्राको समस्या, चिन्ता, उदासी, चिडचिडापन, एकाग्रताको कमी, थकान र निराशाजस्ता समस्याहरू बढिरहेका छन्। होमियोप्याथीले यस्ता मानसिक तथा भावनात्मक पक्षलाई पनि उपचारको महत्त्वपूर्ण अंश मान्छ।
के–के कुरामा ध्यान दिइन्छ ? औषधि चयन गर्दा होमियोप्याथीमा निम्न पक्षहरूको समग्र अध्ययन गरिन्छ। जस्तैः रोगीको प्रकृति कस्तो छ ? मौसमबाट कस्तो प्रभाव पर्छ ? गर्मी मनपर्छ कि चिसो ? तिर्खा धेरै लाग्छ कि कम ? भोक, निद्रा, पसिना, मल–मूत्रको अवस्था कस्तो छ ? रोग कुन समयमा बढ्छ वा घट्छ ? पारिवारिक र सामाजिक अवस्था कस्तो छ ? व्यवहार, स्वभाव, डर, रिस, दुःख, संवेदनशीलता कस्तो छ ? जीवनशैली, खानपान र बानी–व्यवहार कस्तो छ ? यसबारेमा जानकारी लिइन्छ। साथै आवश्यक भएमा आधुनिक चिकित्सामा प्रयोग हुने प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, एमआरआई आदि रिपोर्टहरूको अध्ययन पनि गरिन्छ।
मेटेरिया मेडिका र रिपर्टरीको भूमिकाः होमियोप्याथी मेटेरिया मेडिका (पुस्तक) मा हजारौं औषधिहरूको गुण, लक्षण र प्रभावहरूको विस्तृत वर्णन पाइन्छ। त्यसैगरी होमियोप्याथिक रिपर्टरी (लक्षण–सूची) मा विभिन्न लक्षणहरू व्यवस्थित रूपमा वर्गीकृत गरिएको हुन्छ। चिकित्सकले बिरामीका विशेष लक्षण, मानसिक अवस्था र मोडालिटीका आधारमा उपयुक्त औषधि खोज्न यी ग्रन्थहरूको प्रयोग गर्छन्।
केही प्रचलित मोडालिटीका उदाहरणः होमियोप्याथी साहित्यमा विभिन्न मौसम, वातावरण र मानसिक अवस्थासँग सम्बन्धित केही औषधिहरूको उल्लेख पाइन्छ। उदाहरणका रूपमा केही उल्लेख गर्न सकिन्छः
- वर्षायाम, चिसो हावा र भिजाइबाट प्रभावित अवस्थाः रस टक्स, रोडोडेन्ड्रन, डल्कामारा आदि।
- अत्यधिक जाडोबाट प्रभावित अवस्थाः एकोनाइट, कस्टिकम, नक्स भोमिका आदि।
- वसन्त ऋतुमा देखिने केही समस्याः एरालिया रेसिमोसा, ब्रायोनिया, पल्साटिला, इपिकाक आदि।
- प्रचण्ड घाम र गर्मीबाट प्रभावित अवस्थाः एकोनाइट, ग्लोनाइन, नेट्रम कार्ब, नेट्रम म्युर आदि।
- औंसी–पूर्णिमासम्बन्धी संवेदनशील अवस्थाः एन्टिम क्रुड, साइलिसिया आदि।
- नयाँ ठाउँमा अनुकूल हुन कठिनाइ हुने अवस्थाहरूः वालनट आदि।
- दबाब सहेर भित्रभित्रै पीडा दबाउने स्वभावमाः स्टेफिसिग्रिया, कोलोसिन्थ आदि।
- प्रेम–वियोगबाट उत्पन्न मानसिक तथा शारीरिक पीडामाः इग्नेसियाको प्रयोग गरिन्छ।
हालै भेट भएका एक बिरामीमा वर्षा सुरु हुनेबित्तिकै जोर्नी दुख्ने, शरीर भारी हुने र भिजेपछि समस्या बढ्ने अवस्था थियो। अर्को बिरामीलाई भने बिहान चिसो हावामा बढी दुखाइ हुन्थ्यो, तर हिँड्दा कम हुन्थ्यो। दुवैलाई ‘जोर्नी दुखाइ’ भए पनि उनीहरूको मोडालिटी फरक थियो। होमियोप्याथीमा यही फरकलाई महत्त्व दिइन्छ।
मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन् ।
प्रतिक्रिया दिनुहोस !