बिक्रेतालाई उपभोक्ता संरक्षण विभागको आग्रह : इन्धनको मूल्य घट्यो, मूल्य समायोजन गर्नू
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सरोकारवालालाई आग्रह गरेको छ।
विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएकाले मूल्य पनि समायोजन गर्न विभागले आग्रह गरेको हो।
नेपाल आयल निगमले २०८३ असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मध्यपूर्वमा भएको संकटको कारणले नेपालमा समेत वृद्धि भएको ईन्धनको मूल्य हाल सामान्य अवस्थामा आएकोले नेपाल आयल निगमले मिति २०८३ असार १६ गते मंगलबार देखि लागू हुने गरी उल्लेख्य रुपमा ईन्धनको मूल्य घटाएको सन्दर्भमा आम सर्वसाधारणको जनजीवनलाई सहज बनाउन अत्यावश्यक खाद्य पदार्थ लगायतका सबै वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन सम्बन्धित सबै विक्रेताहरुलाई अनुरोध गरिन्छ।’
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ बमोजिम उपभोक्ताको अधिकार संरक्षणका लागि सबै सरोकारवालाहरुको जिम्मेवारी रहेकोले सबै विक्रेता, ढुवानीकर्ता, उपभोक्ताको हकहितसँग सम्बन्धित संस्था, उद्योगी व्यवसायीसँग सम्बन्धित सबै छाता संस्था तथा वस्तुगत संगठनहरु लगायत आम उपभोक्ता समेत यस विषय प्रति सचेत, जागरुक र जिम्मेदार भई दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सबैमा हार्दिक अनुरोध गर्दछ।’
प्रतिक्रिया दिनुहोस !