शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई ‘नन्दप्रसाद-जानुका स्मृति सम्मान’ प्रदान गरिने
काठमाडौं : यस वर्षको ‘नन्दप्रसाद-जानुका स्मृति सम्मान २०८३’ बाट शिक्षासेवी एवं इन्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुने भएका छन्। नन्दप्रसाद-जानुका फाउन्डेसनले दोलखाको शैक्षिक तथा समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएबापत श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा श्रेष्ठलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिनेछ।
नेपाल सरकारको सहसचिव पदबाट सेवानिवृत्त भएका ८८ वर्षीय श्रेष्ठ दोलखाको शैक्षिक र सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व हुन्। उनी चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस तथा गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष हुन्।
यसका साथै उनी सिंगटी सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष, दोलखा विकास मञ्चका संस्थापक अध्यक्ष, दोलखा गुठीका अध्यक्ष तथा दोलखा लायन्स क्लबका पूर्व अध्यक्ष समेत हुन्। श्रेष्ठले विभिन्न विद्यालयमा 'रूपा स्मृति पुस्तकालय' स्थापना गर्नुका साथै रूपा फाउन्डेसनको समेत स्थापना गरेका छन्।
साविकको पूर्व २ नम्बर (क्षेत्र नम्बर ११) अर्थात् हालको दोलखा जिल्लाका शैक्षिक अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी र उनकी धर्मपत्नी जानुका शिवाकोटीको स्मृतिमा यो फाउन्डेसन स्थापना भएको हो। बालाजु, काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले दोलखाको शैक्षिक उन्नयन र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मानित गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !