२१३ औँ भानुजन्म जन्मजयन्ती
नेपाली भाषा विकास,विस्तारमा भानुभक्त आचार्यको योगदान अतुलनीय : सभामुख
काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानुभक्त जयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा,साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताए । उनले भानुभक्तले देखाएको मार्ग–सरलता,स्पष्टता,जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा. आना एम स्टिरलाई नेपाली साहित्य क्षेत्रमा गरेको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा,साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् ।
प्रतिक्रिया दिनुहोस !