खाडीमा नेपाल एयरलाइन्सको उडान नियमित र व्यवस्थित गर्न चौतर्फी जोड
साउदी : नेपाली कामदारको बाहुल्य भएका देशमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान नियमित र व्यवस्थित गर्न सरोकारवालाहरूले माग गरेका छन्। दुई दशकदेखि ‘कम्पनी मोडल’ मा रूपान्तरण गर्ने बहस चलिरहे पनि कार्यान्वयन नहुँदा सेवा प्रवाह कमजोर बनेको भन्दै खाडीमुलुक तथा मलेसियामा कार्यरत नेपाली श्रमिक र प्रवासी व्यवसायीहरूले तत्काल सेवा सुधार गर्न निगम व्यवस्थापनको ध्यानाकर्षण गरेका छन्। खासगरी साउदी अरब, कतार, यूएई, मलेसिया र कुबेतजस्ता प्रमुख श्रम गन्तव्यहरूमा निगमको उडान व्यवस्थित नहुँदा र समयको पालना नहुँदा लाखौं नेपाली कामदार मारमा परेका छन्।
उडान रोकिँदा श्रमिकलाई सास्ती, टिकटमा एकाधिकार र महँगी हवाई सेवा जानकारका अनुसार अनुसार काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालम्पुरजस्ता मुख्य श्रमिक रुटमा नेपाल एयरलाइन्स सक्रिय हुँदा बजार प्रतिस्पर्धाका कारण हवाई भाडा १० देखि ३० प्रतिशतसम्म सस्तो हुने गरेको छ। तर, निगमले उडान घटाउँदा वा सेवा स्थगन गर्दा विदेशी एयरलाइन्सको एकाधिकार बढ्ने र रगत–पसिना बगाउन बिदेसिएका नेपाली श्रमिकहरू अत्यधिक महँगो टिकट किन्न बाध्य हुने गरेका छन्।
बजार सन्तुलन र रणनीतिक विस्तारबारे गैरआवासीय नेपाली संघका पूर्वअन्तर्राष्ट्रिय अध्यक्ष एवं कतारका व्यवसायी आरके शर्मा भन्छन्, ‘निगमको सुधार केवल कागजी परिवर्तनमा सीमित हुनुहुँदैन। मध्यपूर्व र मलेसियाजस्ता नेपाली श्रमिकहरूको उच्च माग र व्यावसायिक लाभ भएका गन्तव्यहरूमा नियमित उडान विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँग रणनीतिक सहकार्य गर्न सके निगमको आम्दानी बढ्नुका साथै नेपाली कामदारले सहज र प्रतिस्पर्धी सेवा पाउनेछन्।’
रणनीतिक र दीर्घकालीन उडान योजना
नेपाली श्रमिकको बाहुल्य रहेका देशहरूमा उडान नियमित र दीर्घकालीन हुनुपर्ने माग साउदी अरबमा रहेका भ्रातृ संगठनका प्रतिनिधिहरू भूपाल भण्डारी, अमर श्रेष्ठ, रामचन्द्र वाग्ले, अर्जुन थापा र कुवेर हुमागाईंको छ। उनीहरू भन्छन्, ‘साउदी अरबमा ठूलो नेपाली श्रमिक समुदाय छ। निगमले रियाद, दमाम र जेद्दाहजस्ता गन्तव्यमा नियमित तथा दीर्घकालीन उडान रणनीति बनाउनुपर्छ। विदेशमा रहेका नेपालीको आवश्यकतालाई केन्द्रमा राखेर योजना बनाइयो भने मात्र सुधारको वास्तविक अर्थ रहन्छ।’
मलेसिया र यूएईजस्ता प्रमुख हवाई बजारमा नेपाल एयरलाइन्सको व्यवस्थापन चुस्त हुनुपर्ने धारणा मलेसियामा कार्यरत राजीव घिमिरेको छ। ‘मलेसिया र यूएई नेपाली यात्रुका लागि अत्यधिक ठूलो बजार हो,’ घिमिरे भन्छन्, ‘निगमले उडान संख्या, समय व्यवस्थापन र टिकट उपलब्धतालाई सुधार गर्न सके विदेशी एयरलाइन्ससँग प्रभावकारी प्रतिस्पर्धा गर्न सक्छ। कम्पनी मोडलमा रूपान्तरणसँगै डिजिटल सेवा र समयपालनमा विशेष ध्यान दिनु आवश्यक छ।’
यस्तै, कुबेतमा कार्यरत नेपाली व्यवसायी उपेन्द्र अधिकारी राजनीतिक हस्तक्षेपमुक्त व्यावसायिक सञ्चालनको माग गर्दै भन्छन्, ‘कुबेत–नेपाल उडानलाई नियमित र भरपर्दो बनाउन सके वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ठाडै लाभ पाउनेछन्।’
कूटनीतिक वृत्त र प्रवासी नेपालीको भावना
श्रम गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूले पनि राष्ट्रिय ध्वजावाहकको नियमित सेवा विस्तारले नेपाल र अरू देशबीच हवाई सम्पर्क मजबुत हुने, व्यापार–पर्यटन प्रवद्र्धन हुने र आपत्कालीन उद्धार सहज हुने बताउँदै आएका छन्। खाडीमा कार्यरत नेपाली कामदारका अनुसार नेपाल एयरलाइन्सप्रति उनीहरूको भावनात्मक सम्बन्ध बलियो छ। नेपाली जहाजमा घर फर्किन पाउँदा छुट्टै आत्मीयता महसुस हुने, नेपाली भाषा र आफ्नै खाना पाइने हुनाले यात्रा सहज हुने बताउँछन्। तर, उनीहरूले उडान संख्या बढाउनुपर्ने र अनलाइन टिकट बुकिङ सहज बनाउनुपर्ने माग राख्दै आएका छन्।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपमहासचिव राजेन्द्र अर्याल भन्छन्, ‘वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमा नियमित उडान विस्तार गर्न सके यसले मुलुकको पर्यटन, व्यापार र प्रवासी नेपाली सबैलाई सकारात्मक लाभ पु¥याउनेछ। त्यसैले निगमको कम्पनी मोडलमार्फत सुशासन र वित्तीय अनुशासन सुनिश्चित गरिनुपर्छ।’
बेलायतका एनआरएनए उपाध्यक्ष एवं कल्याण विभाग प्रमुख रोजिना प्रधान राई थप्छिन्, ‘नेपाल एयरलाइन्स विदेशमा रहेका लाखौं नेपालीको राष्ट्रिय पहिचान र भावनासँग जोडिएको ध्वजावाहक हो। सुधार यात्रुले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन हुनुपर्छ।’
कार्गो व्यवसाय र श्रमिकलाई थप सुविधा
कम्पनी मोडलमा रूपान्तरण गरेपछि नियमित उडानसँगै कार्गो सेवालाई आधुनिक बनाउन सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने व्यवसायीहरूको विश्वास छ।अन्तरसंस्था समन्वय समितिका अध्यक्ष एवं व्यवसायी अमृत पौडेल निगमको नियमित उडान र डिजिटल बुकिङ प्रणाली लागू गरी खाडी मुलुकबाट नेपालतर्फ आउने कार्गो सेवालाई विस्तार गर्ने हो भने वैदेशिक रोजगारीमा रहेका नेपाली, निर्यातकर्ता र समग्र राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष लाभ पुग्ने बताउँछन्।
विगतका विभिन्न अध्ययन समिति (२०४६ देखि २०७७ सम्मका प्रतिवेदनहरू) ले निगमलाई कम्पनी मोडलमा लैजान दिएका सुझावहरूलाई व्यवहारमा उतार्नु नै अहिलेको मुख्य आवश्यकता हो। संकटका बेला (कोभिड वा युद्धका समयमा)मात्र श्रमिकको उद्धारका लागि सम्झिने तर सामान्य अवस्थामा उपेक्षा गरिने प्रवृत्तिको अन्त्य हुनुपर्छ। सरोकारवालाहरूको साझा माग के छ भने, सरकारले अब नयाँ प्रतिवेदन बनाउने बहाना नगरी दुई दशकदेखि थन्किएका सुधारका योजनालाई दृढ राजनीतिक इच्छाशक्तिका साथ कार्यान्वयन गरोस् र नेपाली श्रमिक धेरै भएका देशमा अन्तर्राष्ट्रिय उडानलाई नियमित, भरपर्दो र व्यवस्थित बनाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !