४ हजार बालबालिकाका लागि एकीकृत भान्साघरको दिवाखाजा
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट अब करिब ४ हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन्।
साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने भएको हो। हालसम्म अधिकांश विद्यालयले आफ्नै स्तरमा दिवा खाजा तयार गर्दै आएका थिए। अब भने एउटै मापदण्डअनुसार केन्द्रीय भान्साघरमा तयार गरिएको पोषणयुक्त खाजा विद्यालयसम्म पुर्याइने व्यवस्था गरिएको छ। यसबाट खाजाको गुणस्तर, सरसफाइ तथा पोषणमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाका अनुसार ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७ सय ९५ विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन्। वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरका कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट खाजा उपलब्ध गराइनेछ।
धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको भान्साघरको उद्घाटन शनिबार वडा नम्बर ७ का अध्यक्ष मोतीराना थारूले गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति थियो।
उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकारको सहयोगमा २ करोड ४५ लाख ३३ हजार २९ रुपैयाँ लागतमा यो परियोजना सञ्चालनमा ल्याएको जनाएको छ।
नगर प्रमुख गोपाल हमालका अनुसार पूर्वाधार निर्माण, भान्सा उपकरण, ढुवानीका लागि सवारी साधन, विद्युत् व्यवस्थापनलगायतका कार्यमा रकम खर्च गरिएको छ भने विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको छ। नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
यही रकम विद्यालयमार्फत ‘फुड फर लाइफ’लाई उपलब्ध गराइने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ। कार्यक्रममा ‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले बालबालिकालाई सुरक्षित, स्वस्थ र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।
धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु भएको यो प्रणाली आगामी वर्षदेखि पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। शिक्षा र पोषणलाई सँगसँगै अघि बढाउने उद्देश्यले सुरु गरिएको यो अभियान सफल भए विद्यालयस्तरमा दिवा खाजा व्यवस्थापनको नयाँ नमुना बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !