जलवायुबारे संकल्प गर्न ‘ग्रीन रन’ प्रतियोगिता : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नारा साथ विभिन्न कार्यक्रमको आयोजना गरेको छ । स्मृति दिवसका अवसरमा कांग्रेसले बुधबार ललितपुरमा ग्रीन रन, ग्रीन टेवल संवाद, जलवायु संकट झल्काउने चित्रकला लगायतका कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताएका छन् ।
जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले फेरि संकल्प गरेको थापाको भनाइ थियो । उनले समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराएकाले त्यसप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको धारणा राखे । साथै सभापति थापाले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा समेत गरेका छन् । सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए ।
कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए । यस्तै उनले ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेशबहादुर पाल प्रथम भएका छन् । उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ । प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका अमृत ठकुरीलाई १० हजार र छैठौ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !