प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा दर्ता गरे जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं : प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमामनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था र विपद् व्यवस्थापनमा पूर्वतयारीको अवस्थाका बारे जानकारी माग गरिएको छ।
त्यस्तै विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्थाको कार्यान्वयन, पहुँच, स्थानगत उपलब्धता, समय र प्रभावकारिताका बारेमा पनि सरकारलाई प्रश्न गरिएको कांग्रेसका सचेतक पदमबहादुर परियारले जानकारी दिए।
उनले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा स्पष्ट पार्न र विपदबाट थप संकट आउन नदिन तत्काल सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले ध्यानाकर्षण प्रस्ताव पेश गरेको बताए।
त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवस्था, वैकल्पिक ब्यवस्था र संयन्त्रहरूको प्रबन्ध , विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय लगाएका विषय उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !