रुवीभ्यालीमा तुइनकै भरमा दैनिक आवतजावत
धादिङ : धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर–५ र ६ का स्थानीयवासी पहिरोले सडक, पुल तथा पैदलमार्ग अवरुद्ध भएपछि तुइनको सहारामा ज्यान जोखिममा राखेर दैनिक आवतजावत गर्न बाध्य भएका छन्।
लगातारको वर्षापछि आखु दोभान क्षेत्रमा आएको पहिरोले रुवीभ्याली–४, ५ र ६ जोड्ने मुख्य आवतजावत मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक र पैदलमार्ग सञ्चालनमा नआएपछि स्थानीयहरूले आखुखोला तर्न तुइनको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
यसबाट बालबालिका, महिला, ज्येष्ठ नागरिक, बिरामी तथा विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयका अनुसार खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। जोखिमपूर्ण तुइन प्रयोग गर्नुपर्ने बाध्यताले कुनै पनि बेला ठूलो मानवीय दुर्घटना हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।
स्थानीयवासीहरूले रुवीभ्याली गाउँपालिका, जिल्ला प्रशासन कार्यालय धादिङ, प्रदेश सरकार तथा संघीय सरकारसँग तत्काल स्थलगत अनुगमन गरी सुरक्षित वैकल्पिक मार्ग निर्माण गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न माग गरेका छन्।
स्थानीयका अनुसार दशकौंदेखि प्रयोग हुँदै आएको यस मार्गको वर्तमान अवस्थाका पछाडि गोरक्षा हाइड्रोपावरको निर्माणकार्य पनि एक कारण रहेको उनीहरूको गुनासो छ।
निर्माणका क्रममा गरिएका गतिविधिका कारण जमिन कमजोर बनेर पहिरोको जोखिम बढेको तथा विद्युत्गृह निर्माणका बेला खोलाको प्राकृतिक बहाव र स्थानीय आवतजावतको उचित व्यवस्थापन नगरिएकाले समस्या झन् जटिल बनेको उनीहरूको दाबी छ।
रुवीभ्याली–५ लापाका दाबा तामाङले अहिले मानिसहरू तुइनको भरमा ज्यान जोखिममा राखेर खोला वारपार गर्न बाध्य भएको बताए। ‘यस्तो संवेदनशील अवस्थामा पनि सम्बन्धित निकाय मौन बस्नु दुःखद् हो। कुनै अप्रिय घटना भएपछि मात्र चासो दिने प्रवृत्ति अन्त्य हुनुपर्छ। जनताको ज्यानभन्दा ठूलो कुनै कुरा हुन सक्दैन’, उनले भने। उनले तत्काल सुरक्षित आवतजावतको व्यवस्था, पहिरो नियन्त्रण र आवश्यक उद्धार तथा पुनस्र्थापनाका काम अघि बढाउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !