लोपोन्मुख पञ्चेबाजा संरक्षणमा भोजपुरका महिला

लोपोन्मुख पञ्चेबाजा संरक्षणमा भोजपुरका महिला
सुन्नुहोस्

भोजपुर : कुनै बेला गाउँका डाँडापाखा, टोलबस्ती, चोकगल्ली र आँगनहरू पञ्चेबाजाको धुनले गुञ्जिन्थे । पञ्चेबाजा विवाह, व्रतबन्ध, पूजाआजा, भोजभतेरदेखि हरेक शुभकार्यमा पञ्चेबाजा नेपालीको सांस्कृतिक चिनारी थियो । पछि आधुनिकता र नयाँ प्रविधिसँगै पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको पञ्चेबाजा विस्तारै ओझेलमा पर्न थाल्यो ।

तर भोजपुरमा भने यही चिन्तालाई आशामा बदल्ने अभियान सुरु भएको छ । यहाँका महिलाहरूले लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजालाई नयाँ पुस्तासम्म जोगाउने जिम्मेवारी आफ्नै काँधमा उठाएका छन् । उनीहरू अहिले केवल बाजा बजाउने मात्र नभई नेपाली मौलिक संस्कृतिलाई पुनर्जीवन दिने अभियानमा अग्रपंक्तिमा उभिएका छन् ।

विगत केहि वर्षहरुबाट भोजपुर नगरपालिकाले सञ्चालन गरेको पञ्चेबाजा प्रशिक्षणमा सहभागी बनेका महिलाहरूले छोटो समयमै सीप हासिल गरेर विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन थालेका छन् । केही वर्षअघिसम्म पुरुषले मात्र बजाउने गरेको पञ्चेबाजामा अहिले महिला समूहको सक्रिय उपस्थिति देखिन थालेको हो । उनीहरू पञ्चेबाजाको प्रस्तुति केवल मनोरञ्जन होइन, हराउँदै गएको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र संरक्षणको सशक्त सन्देश पनि बनेको उनीहरु सुनाउँछन् ।

nullपञ्चेबाजा समूहकी सदस्य जानुका खड्काका अनुसार तालिमले आफूहरूलाई केवल बाजा बजाउन सिकाउने मात्रै नभई संस्कृतिप्रतिको जिम्मेवारी पनि बोध गराएको छ । ‘हामीले प्रशिक्षण लिने अवसर पायौँ । अहिले विभिन्न स्थानबाट कार्यक्रमका लागि निम्ता आउँछ, हामी बाजागाजासहित पुगेर प्रस्तुति दिन्छौँ’, उनी भन्छिन् । समूहले जिल्ला तहका विभिन्न सार्वजनिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको छ । महिला समूहकी अर्की सदस्य लक्ष्मी तामाङले पञ्चेबाजा केवल एउटा बाजा मात्र नभई मौलिक पहिचान भएको सुनाउँछिन् ।

उनी सिकेको सीपलाई आगामी पुस्तासम्म पु¥याउने अठोटमा छिन् । उनका अनुसार महिलाहरूले समूह बनाएर नियमित रूपमा सार्वजनिक कार्यक्रममा पञ्चेबाजा बजाउन थालेपछि यसप्रति नयाँ पुस्ताको आकर्षण समेत बढ्न थालेको छ । उनले भनिन्, ‘पञ्चेबाजा केवल धुन होइन, नेपाली समाजको इतिहास, संस्कृति र पहिचान बोकेको जीवित सम्पदा हो । भोजपुरका महिलाहरूले त्यसै सम्पदामा नयाँ ऊर्जा भरेका छन् । मौलिक संस्कृति जोगाउने जिम्मेवारी मात्रै होइन, समाजकै साझा दायित्व हो ।’

पञ्चेबाजा जस्तो मौलिक सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न महिलाको सहभागिता बढ्नु सकारात्मक परिवर्तन भएको अर्का बाद्यवाधिका विजयन्ती तामाङको ठम्याई छ । ‘पहिले पुरुषको मात्रै क्षेत्र मानिने पञ्चेबाजामा अहिले महिलाले पनि आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । यसले संस्कृति संरक्षणसँगै महिलालाई आत्मविश्वास, सम्मान र रोजगारीका अवसर पनि दिएको छ ।’ उनले थपिन्, ‘आगामी पुस्ताले पनि हाम्रो मौलिक पहिचान चिनुन् भन्ने उद्देश्यले सबैले पञ्चेबाजा संरक्षणमा योगदान दिन आवश्यक छ ।’

nullपञ्चेबाजा तालिम र सीपले मौलिक संस्कृतिको संरक्षणसँगै महिलाका लागि नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले महिलालाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षणको उद्देश्य नै लोपोन्मुख संस्कृतिलाई जोगाउनु रहेको सुनाइन् । ‘हामीले महिलालाई लक्षित गरेर पञ्चेबाजा प्रशिक्षण सञ्चालन गरेका थियौँ । त्यसैको परिणामस्वरूप अहिले महिला पञ्चेबाजा समूह गठन भएको छ’, उनी भन्छिन् । नगरपालिकाले वडा नम्बर ९ सँगको सहकार्यमा वर्षेनी प्रशिक्षण सञ्चालन गर्दै आएको छ । प्रशिक्षणपछि महिलाहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै आयआर्जनको अवसर समेत प्राप्त गर्न थालेका छन् ।

वडा नम्बर ९ का वडाध्यक्ष रामबहादुर तामाङका अनुसार तालिमसँगै आवश्यक बाजासामग्री उपलब्ध गराइएकाले महिला समूहलाई व्यावसायिक रूपमा अघि बढ्न सहज भएको छ । उनले आधुनिकतासँगै हराउँदै गएको पञ्चेबाजाको परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यले सुरु गरिएको अभियान अहिले उत्साहजनक रूपमा अघि बढिरहेको बताए । हराउँदै गएको पञ्चेबाजा संरक्षण र सम्बद्र्धनमा महिला मात्रै नभई विभिन्न तहतप्काबाट प्रबद्र्धन गरिनुपर्ने सरोकारवालाहरु बताउँछन् । यसरी सबैले आ–आफ्नो दायित्वबोधले मात्र पञ्चेबाजाको महत्व र पहिचानलाई पुस्तान्तरण गर्न सकिने सरोकारवालाहरुको बुझाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.