सेयर कारोबारले बनायो अर्को रेकर्ड
काठमाडौं: सेयर कारोबारले मंगलबार ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको छ। एकै दिन दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार आठ सय ५७ रुपैयाँको कारोबार भएर पुँजी बजारको २३ वर्षे इतिहासमै नयाँ कीर्तिमान कायम भएको हो।
बजारमा नयाँ लगानीकर्ता थपिँदा अनि पुरानाले सस्तो ब्याजदरमा सेयर भोलुम थप्नेत्रम जारी रहँदा कारोबार रकमले उचाइ छुन सफल भएको हो। मंगलबार कारोबार रकम अत्यधिक बढ्नुमा नेपाल इन्सुरेन्सको संस्थापक सेयरको पनि हात छ।
यस कम्पनीको मात्रै ४९ करोड चार हजार चार सय ८३ कित्ता म्यानुअल ट्रेडिङ भएको छ। नेपाल इन्सुरेन्सले केही समयअघि लिलाममा संस्थापक सेयर बिक्री गरेको थियो।
कारोबार रकमसँगै बजारमापक नेप्से परिसूचक पनि ४.५६ अंकले बढेको छ। समग्र परिसूचक मंगलबार १६१४.१५ विन्दुमा आएर अडिएको छ। बजारमा दैनिक अर्बभन्दा माथिको कारोबार हुनुमा नयाँ लगानीकर्ताको उत्साह प्रमुख कारण रहेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरको भनाइ छ।
बजार निरन्तरजसो बढेको देख्दा नयाँ लगानीकर्ता हौसिएका छन्। उनीहरूको हौसलालाई बैंकको सस्तो ब्याजदरले सात दिएको छ। ठूला र प्रतिष्ठित बैंकले नै सात प्रतिशत हाराहारीमा सेयर कर्जा दिन थालेका छन्।
पछिल्लो समय नबिल बैंकले सात प्रतिशत हाराहारी ब्याजदरमा सेयर ऋण दिइरहेको छ। अन्य बैंकले पनि सातदेखि नौ प्रतिशतभित्र सेयर कर्जा दिएका छन्। सस्तो ब्याजदरमा सजिलै ऋण पाइने भएकाले लगानीकर्तालाई सजिलो भएको हो।
बजार विश्लेषकका अनुसार बजार निरन्तरजसो माथि जानु अनि दैनिक कारोबार रकम पनि सोही अनुपातमा चुलिनुमा डिम्याट कारोबार प्रणालीलाई पनि मुख्य जश जान्छ। गत माघदेखि डिम्याट सेयरको मात्र कारोबार भइरहेको छ। यसबाट सेयर किनबेच गर्न निकै सजिलो भएको छ। किनबेच गरेको सेयर लगानीकर्ताले तुरुन्तै अनलाइन खातामा हेर्न सक्छन्।
कागजी प्रमाणपत्र बोकेर हिँड्नुपर्ने समस्या अब समाधान भएको छ। सेयर प्रमाणपत्र हराउने, च्यातिने वा नासिने डर अब छैन। डिम्याट खातामा भएको सेयरको आधारमा बैंकले तुरुन्त ऋण प्रवाह गर्न थालेका छन्।
बजार निरन्तरजसो माथि जानु अनि दैनिक कारोबार रकम पनि सोही अनुपातमा चुलिनुमा डिम्याट कारोबार प्रणालीलाई पनि मुख्य जश जान्छ। गत माघदेखि डिम्याट सेयरको मात्र कारोबार भइरहेको छ। यसबाट सेयर किनबेच गर्न निकै सजिलो भएको छ। किनबेच गरेको सेयर लगानीकर्ताले तुरुन्तै अनलाइन खातामा हेर्न सक्छन्।
प्रविधिमा आएको छलाङले बजारलाई नयाँ उचाइमा पुर्याएको हो। अन्य मुलुकमा पनि सीडीएस कार्यान्वयनमा आएपछि बजार १० गुणासम्म माथि गएका छन्। त्यही नियम हामीकहाँ पनि देखिएको विश्लेषकको भनाइ छ।
ब्रोकरका अनुसार अहिले बजारमा आएका नयाँ लगानीकर्तामा पनि निकै सुझबुझ देखिएको छ। अधिकांशले कम्पनीको वित्तीय अवस्था अध्ययन गरेरमात्र लगानी गरिरहेका छन्। लाभांश नदिने अनि सुशासन पनि गतिलो नभएका कम्पनीको सेयर भाउ खासै बढेको छैन।
पछिल्लो समय बिमामा लगानीकर्ताको अधिक चाप देखिएको छ। कतिपय बिमा कम्पनीको सेयर तुलनात्मकरूपमा धेरै देखिए पनि दीर्घकालसम्म होल्ड गर्न सक्नेलाई घाटा हुने अवस्था छैन।
गत वर्षको भूकम्पपछि बिमा कम्पनीको व्यापार बढ्दो छ। अधिकांश बिमा कम्पनीको चुक्ता पुँजी ५० करोडभन्दा तल छ। बिमा कम्पनीको चुक्ता पुँजी बढाउने प्रस्ताव गरिएकाले लगानीकर्ता आकर्षित भएका हुन्।
यसैगरी, बैंकको सेयर भाउ त अन्य समूहका तुलनामा अन्डरप्राइस छ। आकर्षक नाफा कमाएका पुराना बैंकको सेयर भाउ पनि तुलनात्मकरूपमा थोरै भएकाले यो समूहमा लगानी सुरक्षित देखिन्छ। लघुवित्त र उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयरमा पनि लगानीकर्ताको आकर्षण उत्तिकै छ।
सेयर बजार विश्लेषक रविन्द्र भट्टराई बिमाको भाउ माथि जानुमा कम्पनीको चुक्ता पुँजी कम हुनु प्रमुख कारण रहेको बताउँछन्। ‘बिमा कम्पनीहरूको चुक्ता पुँजी निकै कम भएकाले थोरै व्यक्तिले पनि सेयर होल्ड गर्न सक्ने अवस्था छ', उनले भने।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत बैंकको चुक्ता पुँजी बढाउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि लगानीकर्ता पुँजी बजारमा झुमिन थालेका हुन्। पुँजी बढाउन बैंकले लगानीकर्तालाई बोनस, हकप्रद, एफपीओलगायतका धितोपत्र जारी गरेर आकर्षक लाभांश जारी गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकको निर्णयलाई पुँजी बजार नियामक धितोपत्र बोर्डले थप सहयोग पुर्याइदिएको छ। हकप्रद जारी गर्ने बैंकले आवेदन दिएको एक सातामै अनुमति पाउनेछन्। क्रेडिट रेटिङसमेत गर्नुपर्दैन। यसबाट बैंकले तत्कालै हकप्रद जारी गर्न सक्ने भएकाले बजारमा यसको थप सकारात्मक प्रभाव देखिएको हो।
बजार बढ्दै जाँदा लगानीकर्ताको सम्पति नाप्ने बजार पुँजीकरण १७ खर्ब ४० अर्ब मा आइपुगेको छ। बजार बढेका बेला सबैतिरबाट सकारात्मक खबर आउने भएकाले लगानीकर्ता बढी हौसिने गर्छन्। उच्च विन्दुमा सेयर किन्दा जोखिम पनि त्यत्तिकै बढेर गएको छ।
नयाँ लगानीकर्ताले सेयर किन्दा आकर्षक मुनाफा दिन सक्ने, तुलनात्मकरूपमा भाउ कम भएको सबल संस्थाको मात्र किन्नुपर्छ। लगानीकर्ताले प्राप्त नाफालाई सुरक्षित पनि गर्दै जानु बुद्धिमानी हुन सक्छ। सेयर किन्दा कम्पनीको प्रतिसेयर आम्दानी र त्यस आधारमा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ख्याल गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !