लिटरमा पानी किनेर घर बनाउँदै भूकम्पपीडित

लिटरमा पानी किनेर घर बनाउँदै भूकम्पपीडित

मनीष दुवाडी
धादिङः विनाशकारी भूकम्पपछि जताततै पानीको संकट हुँदा ग्रामीण भेगका स्थानीय लिटरमा पानी किनेर घर बनाउन बाध्य भएका छन् ।

भूकम्पअघि पनि लामो समयदेखि पानीको समस्या भोग्दै आएका धादिङ सल्यानटारका बासिन्दा घर बनाउन प्रतिलिटरका हिसाबले बूढीगण्डकी र आँखुखोलाबाट ट्यांकरमा पानी किनेर ओसार्न बाध्य छन् ।

केही भूकम्पपीडित सरकारले घोषणा गरेको सहयोग रकम पाइएला र घर बनाउँला भन्ने आशामा छन् भने केही ऋण धन गरेरै भए पनि आफैं घर बनाउन थालेका छन् । सरकारको आस मारेर आफै नयाँ घर बनाउन कस्सिएका भूकम्पपीडित पानी अभावका कारण लिटरका हिसाबले गाडी भाडा तिरेर पानी किन्न बाध्य छन् ।

ज्यामिरेचौर प्रावि सल्यानटार ३ बट्टारकी शिक्षिका रती उप्रेतीले भनिन्, ‘एक ट्यांकर पानी किन्दा ३ हजारदेखि ३५ सयसम्म लाग्छ, ढलान गरेको एउटा घर बनाउन खोलाबाट कम्तीमा सय ट्यांकर पानी अवश्य ओसार्नुपर्छ ।'

सल्यानटार गाउँ विकास समिति २ का जागिरगाउँ, अर्गौता, सन्यासीगाउँका १५ भन्दा बढी घरधुरीले बूढीगण्डकीबाट ट्यांकरमा पानी ओसारेर घर बनाएको उप्रेतीले बताइन् । धेरैजसोले इँटा, सिमेन्टनै प्रयोग गरी ढलान गरेर घर बनाएका छन् भने केहीले ब्लक प्रयोग गरी पक्की घर बनाएका छन् ।

‘पानी ओसार्ने बाटो पनि उस्तै अप्ठ्यारो छ । १०, १२ कोठाको घर बनाउन दुईतीन लाख त पानी ढुवानीमै खर्च लाग्छ । घरमा चाहेजति पानी हाल्न पनि सकिँदैन’, सल्यानटारकै व्यापारी चन्द्र श्रेष्ठले भने, ‘सानो कपडा पसल छ, व्यापार व्यवसाय गर्छु । भूकम्पका कारण घर भत्कियो, यतिन्जेलसम्म जसोतसो गरेर बसियो अब सरकारले दिने भनेको दुई लाख रुपयाँ आजसम्म पाएको छैन । आफू बस्न भने पनि घर बनाउनु प¥यो भनेर पानी किनेर भए पनि घर बनाएँ ।’

धादिङ मैदी ७ सातदोबाटोका अशोक भारतीले पनि नयाँ घर बनाउन प्रतिलिटर दुई रुपैयाँका दरले पानी किनेर घर बनाए । भूकम्पले तहसनहस बनाएको घर बनाउने क्रममै पानीको संकट परेपछि उनलाई भूकम्प गएजस्तै झट्का लागेको छ । घर बनाउन पानी किनेर प्रयोग गर्नुपर्दा अशोकलाई खर्च कसरी धान्ने भन्ने चिन्ता थपिएको छ ।

‘सानो खाजा पसल चलाउथें, भूकम्पले सबै नष्ट भयो । घर बनाउन थालेको पानीले गर्दा सारै समस्या पर्‍यो’, अशोकले भने, ‘बगेर आउने पानी नभएकाले तल खोलाबाट ट्यांकरमा ल्याउनुपर्छ, पानी ल्याउनकै लागि दुईतीन लाख जति खर्च भइसक्यो ।'प्रतिलिटर एक रुपैयाँ तिरेर गाडीमा ओसारेको पानी ३-४ वटा ट्यांकीमा जम्मा गरेर घर बनाउन प्रयोग गर्ने गरेको उनले बताए ।

अशोकजस्तै वर्षादेखि बस्दै आएको घर भत्किएका पीडितलाई मर्मत गर्नु र नयाँ घर बनाउनु अहिलेको पहिलो आवश्यकता हो । तर पानीका लागि २-४ लाख रकम खर्चिनुपर्ने भएपछि बनाउन थालिएको घर पनि निल्नु न ओकेल्नुजस्तै बनेको मैदी ७ की कमला भारतीले बताइन् ।

‘वर्षात्को समयमा बालबच्चा राख्ने ठाउँसमेत हँदैन भनेर ऋण गरेर घर बनाउन थालियो, अहिले पानीसमेत किन्नु परेको छ’, उनले भनिन् । सरकारले वास्तविक पीडितको पीडा बुझ्न नसक्दा पीडितले खुसीको सास फेर्ने दिन नआएको उनी बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.