पास भएको खुसीमा सर्टपाइन्ट !

 पास भएको खुसीमा सर्टपाइन्ट !

म सिरहामा जन्मिएँ। मैले श्री मोहन व्यावसायिक माध्यमिक विद्यालय मिर्चैयाबाट २०३४ सालमा एसएलसी दिएको थिएँ। त्यतिबेला बुवाले घरमै शिक्षक राख्नुभएको थियो, हामीलाई पढाउन।

बाल्यकाल भएकाले पनि होला विद्यालयमा पनि दिनभर पढ्नुपर्ने र घर फर्किएपछि साँझ-बिहान पढ्नुपर्ने भएपछि धेरै तनाव हुन्थ्यो। विषयगत ट्युसन पढ्न हामी मिर्चैयामा सबै टिचरको घरघरमा पुग्थ्यौं। राति लालटिन र टुकीमा पढ्नुपर्ने भएकाले कहिलेकाहीं पढ्दापढ्दै निदाउँथें।

राति बुबा र आमा रेकी गर्न आउनुहुन्थ्यो। टुकी बलेको देखेपछि ‘किन ननिभाएको मटितेल खेर गयो, उठ् पढ्न’ भनेर फेरि सुतेको मान्छेलाई पढ्न कर लगाउनुहुन्थ्यो। घरपरिवार र विद्यालयबाट एसएलसीको समयमा धेरै प्रेसर हुन्थ्यो। घरमा फेल भइस् भने बेइज्जत हुन्छ, राम्रोसँग पढ् भन्न र स्कुलबाट पनि मास्टरहरूले पास हुनुपर्छ भनेर दबाब दिएपछि मनले माने पनि नमाने पनि पढ्नमै ध्यान दिनुपर्थ्यो।

मैले र मेरो काकाको छोराले सँगै एसएलसी दिएका थियौं। दाजुभाइ भए पनि साथसाथीजस्तो गरी हामी सँगै पढ्थ्यौं। पाठ्यपुस्तकको खासै अभाव भएन। बरु अन्य जिल्लामा सुनिन्थ्यो अभावका कुरा। एसलएलसी फलामे ढोका भनिन्थ्यो।

जतिबेला पनि पढ्नुपर्ने सकसले पनि हो कि त्यस्तै जस्तो लाग्थ्यो। एसएलसी पाए भएको एक दिनपछि मात्रै थाहा भयो। दिदीहरू काठमाडौं बस्ने भएकाले गोरखापत्रमा निस्किएपछि घरमा फोन गरेर जानकारी दिनुभयो। काकाको छोरा र म पास भएपछि रमाइलो गरियो।

 

एसएलसी पास भएपछि बुवाले पहिलोपटक दुई जोर सर्ट पाइन्ट सिलाइदिनु भयो। मोतीकाजी दाइको नेपाल टेलर्स भन्ने थियो मिर्चैयामा। अब काठमाडौंमा पढ्नुपर्छ भनेर बुवाले दुई जोर सर्ट पाइन्ट सिलाइदिएपछि मेरो भुइँमा खुट्टा थिएन।

काठमाडौं आएर साइन्स पढ्ने भनेर त्रिचन्द्र क्याम्पसमा भर्ना भएँ। २०३६ सालमा आन्दोलन भयो। बुबाले फेरि घरमै आइज, यतै पढ्ने भनेपछि बीचमै पढाइ छाडेर फर्किएँ। विराटनगर गएर पढें।

स्नातक पास भएपछि एकाएक प्रहरी निरीक्षकमा भर्ना खुल्यो। सुरुमा एसएलसी दिँदा त डाक्टर र पाइलट बन्छु भन्ने थियो। तर जागिर खानुपर्छ भन्ने मनमा थियो। प्रहरी निरीक्षकमा भर्ना खुलेपछि फाराम भरें। पास भनि भएँ। त्यतिबेला प्रहरीप्रतिको मानसम्मानले पनि मलाई यो संगठनमा जागिर खान उत्प्रेरित गराएको थियो सायद।

त्यतिबेलाको र अहिलेकोको एसएलसीमा धेरै फरक पाउँछु। अहिलेको एसएलसी नयाँ भर्सन हो। अहिलेकाले एसएलसी पास गर्दा जीवनजगत्को विषयमा जानकारी पाउँछन् भने उहिले खाली किताबी कोरा ज्ञानमा मात्रै सीमित थियो।

अहिलेकाले आमसञ्चार र इन्टरनेटजस्ता प्रविधिको प्रयोग गरेर धेरै एड्भान्स एसएलसी दिएका छन्। सीमित पाठ्यपुस्तकको सीमामा रहेर ज्ञान ग्रहण गर्नुपर्ने थियो हाम्रा पालामा तर अहिले धेरै ब्राइट छ।

(प्रहरी महानिरीक्षक अर्यालसँग अन्नपूर्णकर्मी सुवास गोतामेले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.