प्रहरीबाट बिजुली बजारमा ‘गुन्डा’ माथि गोली प्रहार
![प्रहरीबाट बिजुली बजारमा ‘गुन्डा’ माथि गोली प्रहार](https://annapurnapost.prixacdn.net/media/albums/576b94c6d013a3.71384728_8bjyIi4uQ5.jpg)
काठमाडौंको बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै गुन्डागर्दीमा संलग्न एकजना युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
कालीमाटी, टेकु, कलंकीक्षेत्रमा गुन्डागर्दीमा संलग्न जसवन्त राई भन्ने पूर्ण गुरुङलाई पक्रने क्रममा प्रहरीले गोली चलाएको हो ।
पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको जानकारी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अन्नपूर्ण अनलाइनलाई दिए ।
गोली लागेर घाइते भएका गुरुङलाई प्रहरीले त्यहाँबाट उपचारका लागि वीर अस्पताल लगेको छ । घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ ।
उनलाई तिघ्रा र पिँडुलामा दुई गोली लागेको प्रहरीले जनाएको छ । गुरुङ कलंकी क्षेत्रमा रहेका होटल तथा लज सञ्चालकहरुलाई मार्ने धम्की दिँदै पैसा असुल्ने काममा संलग्न रहेको एसएपी खनालले बताए ।
‘महाशाखामा १५/२० दिनदेखि गुरुङको कर्तुतबारेमा पीडितहरुले गुनासो लिएर आइरहेका थिए’, उनले भने, ‘उजुरी आएपछि खोजी गर्ने क्रममा बिहीबार बिजुली बजारमा भेटेपछि प्रहरीलाई नै आक्रमणमा उत्रेकाले बाध्य भएर गोली हानिएको हो ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)