पहिरो गएको वर्ष बित्यो, लागेन बासको टुंगो
ताप्लेजुङ: रोजगारीका लागि विदेश गएका कारण कुमार अहिले जिवित छन्। परिवारको खुसीका लागि पैसा कमाउन मलेसिया लागेका कुमारको गाँउमा रहेका बाबुआमासँग पुनः भेट हुन पाएन।
गत वर्ष आएको विनाशकारी पहिरोले उनका आमाबाबुसहित पाँचजनाको परिवार पुरियो। न परिवार, न घर आफ्नो भन्ने केही बाँकी रहेन।२३ वर्षका कुमारले सरकारको प्रतिक्षामा एक वर्ष बिताए तर केही पाएनन्।
घर, परिवार र जग्गा जमिन केही नभए पनि सरकारले पुनर्वासको व्यवस्था गरिदेला भन्ने आसमा बसेका कुमार अहिलेसम्म सरकारले दुःख नबुझेपछि समस्यामा परेको बताउँछन्। उनी भन्छन्, 'एउटा झुप्रो र गरी खाने माध्यम भए बाँचिन्थ्यो तर गरेर खाने आधार नभएपछि दुई छाक खान पनि संकट भएको छ।'
जग्गा र घर सबै पहिरोले लगेपछि विचल्लीमा परेका लिवाङ फुकाम्देनका पूर्णबहादुर लिम्बू अहिले बाँचेको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। पहिरोमा आफ्ना दुई छोरी गुमाएका लिम्बू अहिले खोक्लिङमा डेरा गरेर बसिरहेका छन्।
पहिरोमा सर्बस्व गुमाएका लिम्बू सरकारले राहत र वासस्थानको व्यवस्थापनमा नगर्दा बाँचेका तीनजनाको परिवारलाई पनि गाँसबासको व्यवस्था गर्न नसकेको बताउँछन्।लिवाङ थोपेहाङका भीमप्रसाद पुरी भने लिवाङको पहिरो छोडेर फुङलिङतिर बसाइँ सरेका छन्।
फुङलिङमा आफ्नो घर जग्गा केही नभए पनि चिनेजानेका आफन्त रहेकाले बनिबुतो गरेर जहान छोराछोरीको हातमुख जोड्न फुङलिङतर्फ बसाइँ सरेका हुन्।
माइतमा छोरी छोडेर ज्वाइँ विदेश गएपछि सुत्केरी छोरी र नाबालक शिशुको हेरचाह गर्दै आएका उनी भएको घरजग्गा र सम्पत्ति सबै पहिरोले लगेपछि यो अवस्थामा पुगेका हुन्।
अधिल्लो वर्षको जेठ २७ गते राति गएको पहिरोबाट लिवाङमा मात्रै २८ जनाले ज्यान गुमाएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोबाट यो गाविसमा मात्रै एक सय ५३ घर परिवार विस्थापित भए। विस्थापित भएकामध्ये कतिपय खोक्लिङमा छन् भने धेरैजसो लिवाङकै बाक्लो गाँउलगायतका अलि सुरक्षित ठानिएका गाँउमा बसिरहेका छन्।
सोही पहिरोबाट जिल्लाका खोक्लिङ, थिङलाबु, सान्थाक्रा, खाम्लुङ र लिङतेप गाविसका झन्डै सात सय मानिस विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
लागेन बासको टुंगो
गाउँमा फर्किने अवस्था छैन। पहिरोको प्रहारबाट नभत्किएका केही घरहरू छन्। तर घरमा गएर बस्न सक्ने अवस्था छैन। सयौं मन अलैंची फल्ने बारी पहिरोमा परिणत भए।
रोपाइँ गर्न ठिक्क पारिएका खेत पहिरोले पुर्यो। पाक्न लागेको मकै र बारी पनि पहिरोमै पुरियो। गाउँमा गएर न कमाइँ लाउने ठाउँ छ न बस्ने घर। विस्थापितहरू विचल्लीमा छन्।
सरकारले हालसम्म विस्थापितको पुनर्वासको व्यवस्था नगरेका कारण जाने ठाउँ काहीँ नभएको भन्दै गाउँमै असुरक्षित ढंगले बसिरहेका छन्। आकाशमा कालो बादल मडारिन थालेपछि मनमा चिसो पस्छ, पहिरो आयो भने भाग्ने ठाउँ छैन। सरकारले सुरक्षित ठाउँमा स्थान्नतरण गर्छ कि भन्दै वर्ष दिन बित्यो।
लिवाङको ल्यामल्याम डाँडामा पाल टाँगेर बसिरहेकी ९० वर्षीया लच्छिमा तिवारीले भनिन्, 'जताततै पहिरो छ, मरे मरुन् भनेर ताप्लेजुङका विस्थापितको सरकारले वास्तै गर्न छोड्यो। सरकारले हेर्दैन भने विपत्तिमा परेका हामीलाई कसले हेर्छ?'
उनीजस्तै धेरै विस्थापित सरकारले पुनर्वासको व्यवस्था गरिदिन्छ भन्नेमा ढुक्क थिए। तर पहिरो गएको वर्ष दिनसम्म ताप्लेजुङको पहिरोपीडिको पीडा सरकारले सम्बोधन गरेन। 'घर पनि छैन, जग्गा पनि छैन। चामल दिने संघसंस्था पनि आउन छोडे। अब कसले खान दिन्छ हामीलाई ? ' पहिरोबाट विस्थापित खोक्लिङ आलेगाँउकी गंगा लिम्बूले भनिन्।
पहिरोबाट विस्थापित अधिकांश परिवार डेरा भाडा तिर्न नसकेका कारण घरबेटीले किचकिच गर्न थालेको बताउँछन्। ताप्लेजुङमा गत वर्षको जेठ २७ गते गएको पहिरोले ५९ जनाको ज्यान लिएको थियो।
पहिरो गएको एक वर्षको अवधिमा मृतक परिवारले किरिया खर्चबापतको चालीस हजार रुपैयाँबाहेक सरकारका तर्फबाट कुनै सहयोग पाएका छैनन्। पहिरो गएपछि देश विदेशका सामाजिक संघसंस्थाले खाद्यान्न, लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तु वितरण गरे पनि मुख्य जिम्मेवार सरकारले पहिरो प्रभावित क्षेत्रका स्थानीय र विस्थापितलाई सुरक्षित स्थानमा सारेकोसम्म छैन।
पहिरोबाट विस्थापित परिवारले जिल्लाका सांसद् तथा नेता साथै प्रशासनमार्फत सरकारलाई भूकम्पपीडित सरहको सुविधा दिन माग गरे पनि अहिलेसम्म सरकारले दिने नदिने कुनै निर्णय नगरेको पहिरोपीडित गोपी अधिकारीले बताए।
सरकारले सार्वजनिक गरेको बजेटमा पहिरो प्रभावित क्षेत्रका लागि विशेष योजना ल्याउने बताए पनि त्यो योजना के हो भन्ने अहिलेसम्म पीडितलाई जानकारी छैन।पहिरोले ठूलो क्षति पुर्याएको जिल्लाको पश्चिमी लिवाङ, खोक्लिङ, थिङ्लाबु गाविसका पहिरो प्रभावित परिवार अहिले पनि जोखिममा रहेका छन्।
पहिरो गएको क्षेत्रमा घर भएका केही पारिवार दिनभर घरमा गएर काम गरे पनि साँझ सुरक्षित स्थानमा रहेको छिमेकीकोमा गएर बस्दै आएका छन्।
यी गाविसका दुई दर्जनभन्दा बढी परिवार अझै पनि खोक्लिङ र खाम्लुङ गाविसका घरमा भाडा तिरेर बसेका छन्। कोही पाल टाँगेर बसिरहेको मोती उच्च माध्यमिक विद्यालय खोक्लिङका प्रधानाध्यापक लक्ष्मी खतिवडाले बताए।
पहिरो गएको खाम्लुङ, लिवाङ, सान्थाक्रा, खोक्लिङ र थिङलाबु गाविसमा अहिले पनि वर्षा हुनसाथ पहिरो खस्ने गरेको पीडितहरू बताउँछन्। ती गाविस अहिले पनि पहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रसासन कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार यी गाविसमा दुई सयभन्दा बढी परिवार अहिले पनि पहिरोको उच्च जोखिममा छन्।