अदालतमा अनशन

 अदालतमा अनशन

न्यायालय न्यायको थलो हो । राज्य, समाज, परिवार या कुनै संगठित या असंगठित पक्षबाट कसैमाथि अन्याय भएको लागेमा न्यायको लागि गुहार्ने थलो न्यायपालिका नै हो । तर न्यायपालिकाबाट न्याय नपाएको या नहुने आशंका भएमा न्यायको लागि कहाँ जाने ? न्यायपालिकामाथि दबाब दिनु त्यति सहज विषय हैन, तर त्यसको लागि नैतिक शक्तिको प्रयोगलाई अवान्छित मान्न सकिन्न ।

अहिले सर्वोच्च अदालतमा एकजना युवा अधिवक्ता ‘आमरण अनशन' मा बसेका छन्, बुधबारदेखि । ११ जना न्यायाधीश नियुक्तिको लागि भएको सिफारिसविरुद्ध याचिका दायर गरेका अधिवक्ता पूर्णचन्द्र पौडेलले १४ पटक आफ्नो मुद्दा ‘पेशी' मा राख्दा ११ पल्ट स्थगित भएको र तीनपल्ट हेर्न नमिल्ने न्यायाधीशको इजलास तोकिएको तर सुनवाइ या फैसला नभएको विषयमा आक्रोश व्यक्त गर्दै सर्वोच्च परिसरमै आमरण अनशन सुरु गरेका छन् ।

न्यायाधीश नियुक्ति मामिला राजनीतिक दलहरूबीच अंशबन्डाको राजनीतिबाट निर्देशित छ, केही हदसम्म । न्यायपालिकाको स्वतन्त्रताबारे प्राप्त अवसरहरूमा धारा प्रवाह अभिव्यक्ति दिन नचुक्ने तर अहिलेको सत्ताधारी या भागबन्डामा परेका दलहरूसँग आबद्ध अधिवक्ताहरूले यो सिफारिसप्रति दलीय आबद्धता र पूर्वाग्रहअनुसार नै बोलेका छन् या मौन छन् । न्याय दिनुपूर्व नै या यो मुद्दामा फैसला गर्नुपूर्व नै न्यायाधीशहरू विभाजित छन्, जनताले देख्ने र बुझ्ने गरी । के त्यही विभाजन जिम्मेवार त छैन यो मुद्दा पेशीमा चढाइन र सुनवाइ नहुनको लागि ?

अधिवक्ता पौडेलले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलले यसअघि सोही प्रकृतिको अर्को मुद्दाको निर्णयमा संलग्न रहीसकेका कारण हेर्न मिल्दैन । ११ जना न्यायाधीश सिफारिसविरुद्ध परेको एक रिटलाई उनी संलग्न एकल इजलासले खारेज गर्ने निर्णय गरेको थियो । पौडेलको अनुपस्थितिमा सर्वोच्च न्यायालयमा अन्य आठजना मात्र न्यायाधीश उपलब्ध रहनेछन् ।

केही दिनअघि सर्वोच्चले जारी गरेको वक्तव्यअनुसार न्यायाधीश संख्या र विचाराधीन मुद्दाहरूको अनुपातमा ठूलो अन्तर रहेकाले न्यायमा ढिलाइ हुन गएको तर्क प्रस्तुत गरेको थियो । हो, सर्वोच्चमा संविधानद्वारा निर्धारित न्यायाधीशहरूको संख्या रिक्त रहँदा न्याय प्रभावित हुन्छ । तर नयाँ संविधानलाई उत्कृष्ट मानिए पनि न्यायाधीशलगायत संवैधानिक अंगका पदपूर्ति गर्नको लागि आवश्यक नियमावली र संसद्मा समिति गठन हुनै नौ महिना लाग्यो । यो आफैँमा न्यायप्रति सांसद र संसद्को उदासीनताको परिचायक हो ।

योसँगै अदालतको निष्पक्षतामा दलीय ग्रहणले झन्डै एक दसकदेखि निरन्तरता पाएको छ, संसदीय सुनवाइ र नियुक्तिमा दलीय कोटामार्फत । यसविरुद्ध केही नेताहरूका समयसमयका अभिव्यक्तिसँगै दलहरूले आफ्नो चुनाव घोषणापत्रमार्फत ‘निष्पक्ष र स्वतन्त्र' न्यायपालिकाको वकालत गरे पनि दलीय प्रभावमा न्यायपालिकालाई ल्याउनमा उनीहरूले नै ठूलो भूमिका खेलेका छन् । यसले न्यायविना प्रजातन्त्र अरूभन्दा पृथक् राजनीतिक व्यवस्था हुँदैन भन्ने मान्यता राख्नेहरूमा ठूलो चोट पुर्‍याएको छ । न्यायाधीश नियुक्ति प्रथाको दलीयकरण र कोटा पद्धतिको निरन्तरतापछि सरकारबाट आशा राख्ने ठाउँ कमै छ ।

सम्भवतः अन्तिम न्यायको लागि अधिवक्ता पौडेल सर्वोच्चकै ढोका घच्घच्याउन पुगे । न्यायाधीशहरूमा निष्पक्षता, विवेक, न्याय र ज्ञानको प्रचुरता हुन्छ भन्ने मान्यता हुन्छ नै । तर त्यसलाई पुनस्र्थापित गर्न नैतिक अस्त्र या अनशनको प्रयोग आफैँमा दुर्भाग्यपूर्ण हो । अदालतबाट न्यायको अपेक्षा हुन्छ नै, तर अर्थहीन हुने गरे ढिलो आउने न्याय या नैतिक दबाबपछि आउने न्यायले अदालतमाथिको जनविश्वासलाई कमजोर तुल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.