'भारतको भर पर्दा दु:ख पायौं, चीनसँग व्यापार बढाऔं'
!['भारतको भर पर्दा दु:ख पायौं, चीनसँग व्यापार बढाऔं'](https://annapurnapost.prixacdn.net/media/albums/576e7f710e04a9.99325842_WNjQg7Pewh.jpg)
सुरुङ्गा (झापा): उपप्रधानमन्त्री सिपी मैनालीले सरकार नेपालले छिमेकी भारत र चीनसँगका नाका खोलेर दुवै देशसँग बराबर व्यापार गर्ने रणनीतिका साथ अघि बढेको बताएका छन् ।
शनिबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै महिला बालबालिका एवम् समाज कल्याणमन्त्रीसमेत रहेका मैनालीले भारतसँग मात्र भर परेर व्यापार गर्दा धेरै अप्ठ्यारो परेको र पटक–पटक नाकाबन्दी व्यहोर्नुपरेकाले विकल्प खोजिनुपर्नेमा जोड दिए ।
'अब मुलुकका लागि कुनै अप्ठ्यारो नपरोस् भनेर दुवैतिर नाका खोलेर बराबर व्यापार गर्ने रणनीतिमा सरकार क्रियाशील रहेको छ', उनले भने ।
तराई–मधेसमा एक वा दुईमात्र प्रदेश र त्यसमा पनि पहाडका भू–भाग थप्न नपाइने केही मधेसवादीको माग रहस्यमय भएको बताउँदै संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे ।
नेपालमा बस्ने सबै आदिवासी भएको बताउँदै उनले संविधान आएपछि मुलुक शान्ति, समृद्धि, शिक्षा र चेतनाको बाटोमा अघि बढ्छ भन्ने आम आशाविपरीत घटनाक्रम भएको बताए ।
संविधान कार्यान्वयनमा प्रतिपक्षमा रहेको कांग्रेसलगायतका दललाई समेत सहयोग गर्न र सरकारमा सामेल हुन उनको आग्रह थियो । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)