बंगलादेशले फेरि दियो एक लाख क्विन्टल चामल
![बंगलादेशले फेरि दियो एक लाख क्विन्टल चामल](https://annapurnapost.prixacdn.net/media/albums/576f3be62aee37.38220717_SFBj0Cesnk.png)
बंगलाबन्द (बंगलादेश) बंगलादेश सरकारले नेपालका भूकम्पपीडितका लागि पुनः एक लाख क्विन्टल चामल उपलब्ध गराएको छ । शनिबार भारत–बंगलादेश सीमानाका फूलबारी बंगलाबन्दमा बंगलादेशी अधिकारीले नेपाली अधिकारीलाई उक्त चामल हस्तान्तरण गरे ।
नेपालका तर्फबाट झापाका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले दोस्रो चरणको राहतको चामल जिम्मा लिएका छन् ।
बंगलादेश सरकार विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले नेपाललाई दोस्रो चरणको राहतको चामल हस्तान्तरण गरेका हुन् ।
चामल हस्तान्तरण गर्दै रोहमानले नेपालको दुःखमा बंगलादेशको निरन्तर साथ रहने बताए । उनले भने, ‘हामीले पनि विपद्को धेरै सामना गरेका छौं । त्यसैले विपद् पर्दा छिमेकी मुलुकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हुन्छ ।’ उनले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपालका लागि दोस्रो चरणको राहत उपलब्ध गराएको बताए ।
राहतको चामल जिम्मा लिँदै झापाका निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले बंगलादेशी प्रधानमन्त्रीको सहयोगका लागि नेपाली पक्षका तर्फबाट धन्यवाद दिए । उनले बंगलादेशको सहयोग नेपालका भूकम्पपीडितका लागि ठूलो सहयोग भएको बताए । सापकोटाले भने, ‘नेपालका भूकम्पपीडितका लागि बंगलादेश सरकारले गरेको सहयोगका लागि हामी कृतज्ञ रहनेछौं ।’
शनिबार दसवटा ट्रकमा दुई सय ५० मेट्रिक टन चामल काँकडभिट्टा आइपुगेको छ । उक्त परिमाणको चामललाई झापास्थित नेपाल खाद्य संस्थानका गोदाममा सञ्चित गरेर राखिने निमित्त प्रमुख जिल्ला अधिकारी सापाकोटाले बताए ।
उनले भने, ‘अहिलेलाई झापाका चन्द्रगढी र बिर्तामोडमा रहेका खाद्य संस्थानका गोदाममा राखिनेछ । नयाँ आर्थिक वर्ष सुरु भएपछि हामी भूकम्प प्रभावित क्षेत्रमा पु¥याउनका लागि ढुवानीको व्यवस्था मिलाउनेछौं ।’
बंगलादेश सरकारले तोकेको दस हजार मेट्रिक टन चामल एक महिनाभित्र नेपाल आइपुग्ने बताइएको छ । बंगलादेशले गत साल भूकम्प गएको लगत्तै दस हजार मेट्रिक टन चामल नेपाललाई राहतस्वरूप प्रदान गरेको थियो । तर धेरै समय बित्दा पनि भूकम्प प्रभावित क्षेत्रमा उक्त चामल नपु¥याएको भन्दै सरकारको आलोचना भइरहेको छ । लामो समयसम्म उक्त चामल सञ्चित गरेकाले धेरै चामल बिग्रिन थालेको थियो । अझै पनि झापाका गोदाममा करिब १२ सय क्विन्टल चामल ढुवानी हुन बाँकी छ ।
शनिबार राहतको चामल जिम्मा लिन नेपालका तर्फबाट निमित्त प्रजिअ सापकोटालगायत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन काँकडभिट्टाका प्रमुख यादवराज शिवाकोटी, मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाईं (एसपी), भन्सार अधिकृत निर्माण भट्टराई तथा पत्रकारको टोली बंगलादेश र भारतको सीमानाका बंगलाबन्द पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)