हुम्ला संग्राहालय अलपत्र
हुम्ला : पर्यटन केन्द्र हुम्लाद्वरा सञ्चालित हुम्ला संग्रहालय अलपत्र परेको छ। ०६८/६९ मा साविक जिल्ला विकास समिति हुम्लाले स्थापना गरेको हुम्ला संग्रहालय अलपत्र परेको हो।
जिल्लामा पाइने स्थानीय उत्पादन, स्थानीय पोसाक र पर्यटन झल्काउने जिल्लाका तस्बिरसहित राखिएको हुम्ला संग्रहालय सरोकारवाला निकायको बेवास्तापछि पहिचान मेटिने अवस्थामा छ।
करिब चार लाख लगानीमा हुम्लामा पाइने कृषि औजारका सामान हलो, जुवो, जतारो, मुदुस, कोदो चुट्ने ग्याबरी, स्थानीय पोसाक सहितको संग्रहालय रहेको सिमकोट गाउँपालिकाका लेखापाल विशाल बोहराले बताए।
हुम्लाका विभिन्न समुदायको पहिचान झल्किने पोसाक, पर्यटकीय स्थलको तस्बिर राखिएको थियो। संग्रहालय रेखदेखमा खटाइएका धनराशी रोकायाका अनुसार पहिला विमानस्थल गेट बाहिर स्थापना हुँदा सुरक्षित रहे पनि हाल थाहा नभएको बताए।
जिल्लामा पाइनेकृषिका औजार थुमा, काठ दुम्च्या, मुसल, हलो, जु, रातो बोखु र पटुकी, धोती, चोलो, सुपो लगायतका सामान रहेको रोकायाले बताए। जिल्ला समन्वय समिति हुम्लाका अनुसार संग्रहालय आर्थिक अभावले अलपत्र परेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !