ह्यामलेटको बेलायत यात्रा

ह्यामलेटको बेलायत यात्रा

काठमाडौं: हरेक रंगकर्मी चाहन्छ, एक पटक शेक्सपियरको नाटकमा काम गरौं । शेक्सपियरको सहर उनीहरूको लागि कुनै तीर्थयात्राभन्दा कम हुँदैन । थिएटर भिलेज टिमले भर्खरै शेक्सपियरको नाटक उनकै देशमा प्रदर्शन गरेर फर्किएको छ ।

साउथब्याङ सेन्टरमा आयोजना भएको ‘अल केमी इन्टरनेसनल फेस्टिभल' मा १४ जना नेपाली कलाकारको टोलीले ह्यामलेटको सफल प्रदर्शन गरेर फर्केका हुन् ।

‘बेलायतीका लागि ह्यामलेट नयाँ विषय होइन, सयौंपटक हेरिसकेका थिए होलान्' निर्देशक विमल सुवेदीले भने, ‘अर्कै भाषामा ह्यामलेटको स्वाद सबैले मन पराए ।' ह्यामलेटले नेपाली नाटकलाई बेलायतमा बलियो बनाएर आएको छ ।

विमलले भने, ‘बेलायतीको रेस्पोन्सको आधारमा भन्न सक्छौं, नेपाली कलाको लागि बेलायतमा सम्भावनाको ढोका खुलेको छ ।' ठूलो सहरको मञ्च, नयाँ ठाउँ, नयाँ शैलीमा कलाकारलाई सजिलो हुने कुरै भएन ।

निर्देशक भएकाले विमलको मनमा ठूलो डर थियो । जब पहिलो शो सकिनासाथ पाँच मिनेटसम्म दर्शकको ताली रोकिएन, उनको खुसीको सीमा रहेन । दर्शकको त्यो प्रतिक्रिया विमलको लागि यात्राभरिको सबैभन्दा रमाइलो पक्ष बन्यो । बेलायतीहरूले भावी दिनमा सहकार्य गर्ने प्रस्तावहरू पेस गरे । उनले भने ‘सम्पूर्ण नेपाली रंगमञ्चकै लागि खुसीको कुरा हो ।'

कलाकार कमलमणि नेपाल र भोलाराज सापकोटालाई नयाँ ठाउँले थुप्रै कुरा सिकायो । सानो एक्सपेरिमेन्टल ठाउँमा नाटक प्रस्तुत गर्नुपर्ने, आगो बाल्न नपाइने रहेछ । तर उनीहरूले सेन्सर नै बन्द गर्न लगाएर नाटक गरे । रोचक कुरा के भने त्यहाँ बाँस नपाइने भएकाले आयोजकले दक्षीण अफ्रिकाबाट बाँस मगाइदिएका थिए ।

नाटकमा चिता र त्यसको लागि दागबत्ती बनाउनको लागि बाँस र आगो चाहिएको हो । यहाँजस्तो मञ्च पछाडि गएर लुगा फेर्ने व्यवस्था नहुँदा कलाकारलाई अत्यन्तै गाह्रो भयो । रोल नहुँदा कलाकार पनि दर्शक बनेर बस्नुपर्ने । यो अभ्यास यहाँ त्यत्ति सारो गरिँदैन ।

सबै कलाकारलाई त्यहाँको सिस्टमले प्रभाव पा¥यो । दक्षिण एसियाली कलालाई प्रवद्र्धन गरिएको मेलामा विकसित देशको व्यावसायिकता बुझ्ने मौका नेपाली कलाकारले पाए । टिकट बुकिङदेखि शोसम्म हरेक कुरामा निकै व्यावसायिक छन् बेलायतीहरू ।

यही व्यावसायिकता निर्देशक विमललगायत कलाकारका लागि फलदायी ज्ञान भयो । समूहमा लामो यात्रा सिक्ने मौका हो । भोलाले भने, ‘लामो यात्रामा आफ्नै साथीहरूलाई पनि बुझ्ने मौका पाइयो ।' धेरै पटक विदेशमा नाटक देखाइसकेका भोला र कमललाई यसपटकको यात्रा सबैभन्दा रमाइलो लाग्यो ।

हवाईजहाजमा बिजनेस क्लासमा बसेर जाँदादेखि सुरु भएको उनीहरूको रमाइलो यात्रा अन्तिमसम्म आइपुग्दा जीवनभरको लागि अविस्मरणीय रह्यो ।

नेपालीलाई राजदूतावासले बेवास्ता गर्दा कलाकारहरूले नराम्रो मानेका छन् । उनीहरू बेलायतस्थित नेपाली दूतावासमा धाएरै गएका थिए, तर राजदूत नै भेटिएनन्, न त अरूले राम्रो रेसपोन्स गरे । भोलाले भने, ‘विदेशीले सम्मान गरे पनि आफ्नैले हेलाँ गरे ।'

यो यात्रामा उनीहरूले नेपाली कलाकारलाई विदेशमा हेर्ने दृष्टिकोणमा आएको परिवर्तन पनि महसुस गरे । कमलले १३ वर्ष अगाडि डेनमार्कमा नाटक लिएर जाँदाको अनुभव सुनाए ।

नेपालीहरू उतै लुक्लान् भनेर आयोजकले पासपोर्ट नै राखिदिएका थिए । उनले भने, ‘तर यसपालि भने ससम्मान काम गर्न पाइयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.