पानी पर्नेबित्तिकै विद्यालय बन्द
![पानी पर्नेबित्तिकै विद्यालय बन्द](https://annapurnapost.prixacdn.net/media/albums/576f6056069f88.50935714_unaxG4JD6K.png)
कृष्ण सारुमगर
मकवानपुरः बर्सात् होस् वा हिउँद पानी पर्नेबित्तिकै विद्यालयमा पढाइ बन्द हुन्छ । काठले बारेको जीर्ण भवनमा २८ वर्षअघि छाएको जस्ताले पानी थेग्न छाडेको छ । धियाँल ९ सरस्वतीस्थित बालविकास निमाविको प्वालैप्वाल परेको जस्ताको छानाबाट बर्सात् हुनेबित्तिकै कक्षाकोठाभित्र पानी चुहिएर पोखरी बन्ने गरेको छ ।
बर्सात्को सुरुआतसँगै दुई सातादेखि दैनिक विद्यार्थीलाई हाजिर गराउने र घर पठाउने काम भइरहेको विद्यालयका प्रधानाध्यापक गुप्तबहादुर अधिकारीले बताए ।
बर्सात्का कारण विद्यालयमा पढाइ हुन छाडेपछि विद्यार्थीले कक्षाकोठामा विभिन्न फूलका बिरुवा रोपेका छन् । ‘पानी पर्यो कि कक्षाकोठा आहालमा परिणत हुन्छ', कक्षा चारमा अध्ययनरत यमकुमारी तिवारीले भनिन्, ‘विद्यालयमा हाजिर गरेर घर फर्कनेमात्र काम भइरहेको छ । बरु घरमै बस्न पाए घरको काममा सघाउन पाइन्थ्यो ।'
स्याउलाले छाएको छाप्रो विद्यालयमा तत्कालीन सांसद रूपचन्द्र बिष्टले २०४५ सालमा उपलब्ध गराएको जस्ताले छाएर काठको भवन निर्माण गरिएको थियो । ‘त्यसयता कुनै सरकारी निकायले हेरेको छैन', विद्यालयका प्रअ अधिकारीले भने, ‘प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयमा जस्ता माग गर्छौं तर अहिलेसम्म उपलब्ध भएको छैन ।'
जिल्लाको पूर्वी सिमानामा रहेको उक्त विद्यालयको समस्याबारे कार्यालयमा जानकारी नआएको सहायक जिल्ला शिक्षा अधिकारी खेमानन्द भुसालले बताए । ‘त्यस क्षेत्रका स्रोत व्यक्ति र प्राविधिकसँग बुझेर हामी विद्यालयको समस्या समाधानमा लाग्छौं', उनले भने ।
बसाइँसराइले घटे विद्यार्थी
गाउँका बासिन्दा धमाधम बसाइँ सर्न थालेपछि विद्यालयमा तीन वर्षको बीचमा आधा विद्यार्थी घटेका छन् । २०७१ सालमा तीन सय विद्यार्थी रहेकोमा यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीसंख्या जम्मा एक सय ५० रहेको विद्यालयका शिक्षक हरिवंश खतिवडाले बताए ।
विद्यार्थी अभावमा कक्षा सञ्चालन गर्न पनि समस्या हुन थालेको उनको भनाइ छ । २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल ६ जना शिक्षक कार्यरत छन् । तीन वर्षको बीचमा धियाँल आठ र नौ नम्बर वडाका करिब ५० परिवार बसाइँ सरेर अन्यत्र गएको गाविस सचिव ईश्वरप्रसाद आचार्यले बताए।
‘मकवानपुर जिल्लाको सिमानाभित्र रहेर पनि यो गाउँलाई विकासका कुनै पूर्वाधारले छोएको छैन', उनले भने, ‘गाउँको जमिन बाँझो छाड्दै यहाँका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्ने क्रम जारी छ ।' यहाँका बासिन्दालाई सदरमुकाम हेटौंडा जानुभन्दा बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुर जान नजिक पर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)