नाङ्लो बेचेर लाखौं कमाउँदै किसान
भोजपुरः जिल्लाको दक्षिणी होमताङ गाविसका किसानहरुले नाङ्लो बेचेर वार्षिक एक करोड भन्दाबढी आम्दानी गरिरहेका छन् । होम्ताङ गाविसको १, २ र ३ वडाका किसानले नाङ्लो बेचेरै यति ठूलो आम्दानी गर्न सफल भएका हुन् ।
होम्ताङमा सिँचाइ अभावले अन्नबाली उत्पादन कम हुने भएकाले किसानले बाँसको चोयाबाट नाङ्लो बुनेर गतिलो आम्दानी गरिरहेका हुन् । पुस्तौँदेखि खेतीबाली गर्दै आएका होम्ताङका किसानहरु नाङ्लो व्यवसाय गर्न थालेपछि जीवनस्तर पनि फेरिएको छ ।
यहाँका घरका एकजनाले मासिक रुपमा १५ हजार भन्दा धेरै आम्दानी गर्ने गरेका छन् । नाङ्लो बेचेर सोचे भन्दाबढी आम्दानी भएको होम्ताङ– २ की धर्मकुमारी राई बताउँछिन ।
‘पहिले धेरै गाह्रो हुन्थ्यो । वर्षभरि खान समेत धौधौ पर्ने गरेकोमा अहिले नाङ्लो व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छौं’, उनले भनिन्, ‘यहाँका तीनवटा वडाका किसानहरु अहिले समूह बनाएरै नाङ्लो व्यवसाय गरिरहेका छन् ।’
यहाँका महिलाहरु नाङ्लो व्यवसायमा निकै सक्रिय बनेका छन् । गाउँलेले बुनेको नाङ्लो किन्न घरमै ग्राहक आउने गरेकाले पनि उनीहरुलाई बजारको खासै समस्या छैन ।
‘खान लाउन कुनै चिन्ता छैन’, उनले भनिन्, ‘वर्षमा २ लाखसम्म आम्दानी गर्ने गरेका छौं । यसवर्ष मात्रै एक लाख ८० हजार आम्दानी गर्न सकेँ ।’
परम्परागतरुपमा वाँसको चोयाबाट नाङ्लो लगायत अन्य सामाग्री बनाउने कामलाई व्यवसायिकरुपमा अघि बढाएपछि उनीहरु गाउँ बसेर लोभलाग्दो कमाइ गरिरहेका छन् ।
व्यवासायिकरुपमा नाङ्लो व्यवसाय गर्न तालिम र बजारको व्यवस्थापन गरिदिएपछि गाउँका सबै किसानहरु घरेलु उद्यमी बनेका हुन् ।
आयआर्जन कार्यक्रमले होम्ताङवासीहरुलाई थप व्यवसायमा हौसला प्रदान गरेको छ । व्यवसायिकरुपमा अघि बढ्न नजान्दा असफल भएका उनीहरुलाई सानो तालिमले पनि सफल उद्यमी बनाएको छ ।
‘बजारको व्यवस्था भएपछि नाङ्लो व्यवसाय गर्न सहज बनेको छ’, होम्ताङ–२ की रामबुङ राईले भनिन्, ‘पहिले धेरै नाङ्लो विक्री गर्न सकिन्छ भन्ने लागेको थिएन । अहिले यसैले उद्यमी बनाउँदैछ ।’
नाङ्लो बुन्दै आएका होम्ताङ–१ का बालकुमार राई यही व्यवसायबाट मासिक २० हजारसम्म आम्दानी गर्छन् । अन्य व्यवसायभन्दा बढी आम्दानी दिने र बजारको सहज पहुँच भएकाले यो व्यवासाय सजिलो भएको उनी बताउँछन ।
होम्ताङ–३ का जीवन राईलाई आर्थिक उपार्जनको लागि विदेश जाने अवसर नआएका हैनन् । मेहनेत र जाँगर भए कम लगानीमै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने विश्वास उनको कामले पुष्टि गरिदिएको छ ।
केही कमाइका लागि मोटो रकम खर्चेर विदेशमा पसिना बगाएर आउने कमाइभन्दा आफ्नै गाउँघरमा स्थानीय कृषि व्यवसायबाट हुने आम्दानीमा राई गर्व गर्न रुचाउँछन यहाँका गाउँले ।
यहाँका गाउँलेले बाँसको नाङ्लोसहित डोको, थुन्से, डालो र झाकी पनि बुन्ने गरेका छन् । सातजनाको परिवार रहेको होम्ताङ–१ को दपा राईले नाङ्लो व्यवसायबाट आफ्ना सदस्यलाई सीप सिकाएका छन् । व्यवसायिक सीप दिनसके गाउँमै बसेर विदेशको भन्दा बढी आम्दानी गर्न सकिने व्यवसायी दपाको भनाइ छ ।
नाङ्लो व्यवसायलाई उत्साहजनक प्रवद्र्धन गर्न स्थानीय सगरमाथा विकास संस्थाद्धारा सञ्चालिन गरिबी निवारण कार्यक्रमले अवसर जुटाइदिएपछि गाउँका किसानहरु व्यावसायीमा परिणत भएका हुन् ।
होम्ताङबासीले नाङलो बुन्ने पेशालाई व्यवसायिक बनाएपछि समाजमा पढेलेखेपछि जागिर नै खानुपर्छ भन्ने गलत मान्यतालाई चुनौती दिएको सगरमाथा विकास संस्थाका कार्यक्रम संयोजक उत्तरकुमार राई बताउँछन ।
किराती समुदायको बाहुल्यता रहेको होम्ताङ गाविसका किसानहरुले गरेको उद्यम अन्य गाउँका किसानलाई पनि उदाहरणीय बनेको संयोजक राईको कथन छ ।