अनर्थ अर्थः र अन्यथा अन्त्य

अनर्थ अर्थः र अन्यथा अन्त्य

त्यसो त समयक्रम एवं सामयिक सन्दर्भले आदि, अन्त्य, अथः र समाप्त तथा ऐतिहासिक आधुनिक भन्ने चरण खडा गर्छ। हरेक क्षेत्र विषय, विधि, कार्य, व्यवहारमा जाने आउने अथः र अन्त्यको त्यही क्रम-उपक्रमकै रूपमा हामी हाम्रो राजनीति राज्य प्रणाली तथा राज्य व्यवस्था विधिलाई पनि लिने गर्छौं।

तर पटकपटकका 'अनर्थ अथः' र पटकपटकका चटकपूर्ण 'अन्यथा अन्त्य' ले ग्रस्त हाम्रो राजनीतिलाई सदा नै तदर्थ तुल्याइआएको छ। यो कटु यथार्थ विद्यमानको यो चरणमा आएर बढी नै सोचनीय बनेको छ।

धेरै लामो कालखण्डतिर नजाऔँ अनि इतिहासका थरीथरीका परिवर्तन, परावर्तन र परिपाटी पनि नकोट्याऔँ। यताका ६ महिनाका राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक गतिविधि नै हेर्दा पनि हाम्रो राजनीति र राज्यव्यवस्थाको त्यही तदर्थ ऐतिहासिक विरासती प्रवृत्ति टड्कारो रूपमा प्रदर्शित हुन्छ।

अर्बौंको राष्ट्रिय ढुकुटी सिध्याएर नवौँ वर्षताका आएर बनाइएको नयाँ संविधान नूतन कालभित्रै पुरानियो, घुरानियो र घुनपुत्ला लागेर उधिनियो तर त्यो उत्कृष्टलाई कति विशिष्ट क्लिस्ट बनाउने तथा त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने बहस विश्लेषण भइ नै रहेको छ।

यतिखेर सबै भन्छन्— आफैँले आफ्नो संविधान आफैँका निम्ति हामीले बनाइछोड्यौँ। अनि फेरि सबै भन्छन्— स्थिति र चुनौती उस्तै, उत्तिकै छ। कार्य भएपछि त्यसको कारण स्वयं नै स्पष्ट हुनुपर्ने हो अनि कर्ता प्राप्ति भएपछि स्वतः नै कर्म, गति अघि बढ्नुपर्ने हो।

तर पनि संविधानको सन्दर्भमा कर्ता, निर्माता, प्रणेता प्रशंसक एवं विज्ञ विचारकहरू एक स्वरमा भन्छन्— यसमा कार्यान्वयनको जटिल चुनौती छ र पुनर्मन्थन तथा संशोधनको प्रबल आवश्यक छ।

नौ वर्षयता जतिखेर मुलुकमा मुलुकी विधि हुँदाहुँदै अन्तरिम संविधान थियो, त्यतिखेर सबैजसोले भने— संविधान आएपछि संक्रमणकाल समाप्त हुन्छ, कुटिल, जटिल चुनौती स्वतः हट्छ र देश जनताको सर्वतोमुखी प्रगति तथा आम सन्तुष्टि तत्काल उपलब्ध हुँदा जान्छ।

संविधान आयो, सत्तास्वरूप बदलियो जाडोयामभरिको गर्वोक्तिपछि गर्मीयामको तातो पनि चढ्यो, तैपनि अगाडिको मुलुकी विधि र अन्तरिमकालीन संक्रमणकाल खण्डीय चुनौती शब्दको वाक्वाणीले नेपाली नेताहरूका मुखकण्ठी किन समाइरह्यो ?

प्रश्न फेरि पनि उत्तिकै जटिल छ। समर्थ कार्यसम्पादन र विशिष्ट आत्मसाधनाद्वारा आफ्नै बलबुताबाट आफ्नो उत्कृष्ट संविधान साँच्चै बने, बनाइएको हो भनेजस्तो विशिष्टतम् राष्ट्रिय उत्कृष्टताले अवशिष्ट वा शेषांशमा धेरै कुरा नराखी विशेष कार्यदिशा पक्डन सक्नुपर्ने हो।

भद्रगोल, गोलमाल, कचिंगलका अनेक खालका जञ्जाल तथा जनसाधारणका दैनन्दिनी जीविका तथा याचिकाका जटिल चुनौती नहुनुपर्ने हो। तर कुरा फेरि दोहोर्याएँ, तदुपरान्त पनि सबै-सबै फेरि उही अभिव्यक्ति नै अघि सर्छन्— संविधान त आयोग कार्यान्वयनको चुनौती पनि सँंगसँगै थपियो।

मान्छेहरू भन्छन्, हाम्रो राजनीति बदलियो, राज्य व्यवस्था बदलिएन, उहिलेका कुरा खुइलिए, अहिलेको पालुवा पलाएन। हो, नयाँ संविधान आएपछि धेरैतिर धेरै कुरा उत्कृष्टतम् हुन नसके पनि नवीनतम् भएका छन्, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका आकृति फेरिएका छन्।

माधवजी, झलनाथजीहरूका झिल्काझिल्की र झलकबाजी जेजस्ता भए पनि ओलीजीका झोलीबोली झन्झन् गहकिला हुँदै गएका छन्। भित्रभित्र जीर्ण, चूर्ण भए पनि प्रचण्ड प्रताप मन्त्रिमण्डलभित्र कमाल प्रदर्शनको रूपमा चित्रित हुँदै गएको छ।

 

 

बाबुरामहरूले नयाँ शक्तिको पनि खोस्री गर्दै गए पनि वैद्यजीहरू फेरि हिङ बाँधेकै पुडिया सुँघ्न लागिपर्दैछन्। अनि देशकै सबैभन्दा पुरानो र अहिलेको ठूलो दल नयाँ आवरणमा निकै पुस्ताको विरासत बदलेर नयाँ बनेको छ।

त्यसमा पनि शेरबहादुरहरूको गर्जन र शशांकहरूको आदर्श दर्शन हाम्रा कर्ण विवर एवं नयन पटलमा परिवर्तित वा परावर्तनीय रूपमा आइरहेछन्। चित्रबहादुर, कमल थापा र लोकेन्द्रहरूका रागका कुरा छोडेर भन्दा तराई क्षेत्रका राजनीतिक पात्रका आलाप फेरि पनि संशोधित शैलीमा यथास्थानमै देखिन्छन्।

यी यस्तै-यस्तै र ती त्यस्तै-त्यस्तै। स्थिति, परिस्थितिले फेरि पनि प्रश्नको पेटारो त्यहीँका त्यहीँ खडा छ। स्वभावतः यसै पृष्ठभूमि र परिणतिमाझ नेपाली जनजिज्ञासुहरू सोध्छन्-होइन, यो के भएको हो ?

 संविधानको सन्दर्भमा कर्ता, निर्माता, प्रणेता प्रशंसक एवं विज्ञ विचारकहरू एक स्वरमा भन्छन्-यसमा कार्यान्वयनको जटिल चुनौती छ र पुनर्मन्थन तथा संशोधनको प्रबल आवश्यक छ। 

काम भइरहेछन्, कुरा चलिरहेछन्, गति बढिरहेछन्, आकृति बदलिइरहेछन्, भावभंगी फेरिइरहेका छन्, चालबाजी चलिरहेछन्, तैपनि चालनचल्ती उस्तै छ- स्थिति जटिलतिर नै छ र सबैका मुखमा चुनौती शब्दावलीको पुरानै पुनरावृत्ति चलिरहेछ। प्रश्न फेरि प्रखर रूपमा प्रकट हुन्छ- होइन यो के अनर्थ र कस्तो अन्यथा भएको हो ?

यसै प्रसंगमा कतिपय जानिफकारहरूका आआफ्नै उत्तरमाला पनि छन्। ती भन्छन्। लामो-लामो समय, कालको ख्याल नराखी 'अथः प्रारम्भ हुन्छ' भनी गरिएको 'अनर्थ अथ' तथा विना विचार 'अब समाप्त' भनी भएको 'अन्यथा अन्त्य' कै स्वाभाविक परिणति हो, विद्यमानको जटिलता एवं चुनौतीपूर्ण अवस्था।

पछि मात्रै दैलो देख्ने र लडेपछि मात्रै लट्ठी खोज्ने गर्दा हुने हुनामी यस्तै त हो नि भन्नेहरू पनि यतिखेर कम्ती छैनन्। उत्तरकाण्डका त्यस्ता उत्तरदाता भन्छन्- हतपत गरेपछि लतपत नभए के हुन्छ ? न त अथ प्रारम्भको मुहूर्त नै शुभ भयो न त 'इति अन्त्य' को बेला नै शुभ रह्यो।

नवीनतम प्रारम्भ विचारपूर्वक हुनुपर्छ, नयाँ थालनी शुभ प्रभातिका निम्ति हुनुपर्छ र पुरानोको परित्यक्ति सारभूत परिप्राप्तिको हेतु हुनुपर्छ, अनि यो राजनीतिको अथ र अन्त्यको अर्थ रहन्छ।

हो, आउनु, जानु, पस्नु, निस्कनु, प्रारम्भ अन्त्य गर्नु उद्घाटन समापन हुनु जवानी चढ्नु बुढ्यौलीमा पुग्नु, यी यस्ता कुरा समग्र जीवन, राजनीतिक दर्शन तथा राज्यव्यवस्थाका स्वाभाविक प्राकृत विधान प्रचलन नै हुन्।

१९९७ देखि यता सात, सत्र, सत्चालीस, साठी साल हुँदै बहत्तरको महाभूकम्प तथा संविधान निर्माण, संशोधन, खण्डन, उत्खनन, विश्लेषण एवं नीति नेतृत्व परिवर्तनका यावत् चरणसम्मको हाम्रो यात्रा क्रम पनि त्यस्तै हुन्। तर ती कति स्वाभाविक कति भावातिरेक कति उचित कति अनुचित, कति वाञ्छित कति कृत्रिम भन्ने कसीभित्र भने त्यस्ता कुरा सधैँ छोटिइरहेका हुन्छन्।

कसीमा घोटिनु-खारिनु र सुधारिनु नराम्रो कुरा हेइन, तर कसी कुन र घोटियो कसरी घोत्लिनुपर्ने कुरा त्यो हो। सधैँभरिको प्रयोग, सधैँभरिको परिवर्तन, निरन्तरको खण्डनमण्डन अनि घर्षण उत्खनन अनि फेरि बारबारको उल्लंघनले मात्र हाम्रो राजनीतिको दर्पणलाई सधैँभरि कति सफेद राख्न सक्छ ? सोचनीय विषय छ।

दुनियाँभरिको राजनीति यही हो र राज्यव्यवस्थाको रीतिप्रवृत्ति पनि यस्तै हो भन्नेहरू पनि छन्। चित्त शान्त गर्न र जनचित्त बुझाउन राजनीतिक वृत्तमा त्यस्ता धेरै नेता नायकहरू पनि हुन्छन् तर पटकपटक मन, पेट, इमान, जमान बदल्ने त्यस्ता नायकहरू 'अथः प्रारम्भ' र 'इति अन्त्य' को राजनीतिक यात्रामा कति लायक सिद्ध हुन्छन्, त्यो पनि विचारणीय विषय हो।

राजनीतिलाई श्रेष्ठ नीतिको कोटिमा अख्तियार गर्ने र त्यसबाट समयसापेक्ष आम अभीष्ट पूर्ति गर्ने हिसाबमा हेर्ने हो भने त्यस्तो खालको अनर्थ अथ र अन्यथा अन्त्यले कुनै काम गर्दैन। राजनीतिका काल सर्पहरू परिणाममा अरूलाई डस्छन् र परिणामै अरूका निम्ति विषवमन गर्छन्।

त्यसैले नष्ट गर्नु भ्रष्ट पार्नु मात्रै राजनीतिक कृत्य होइन। सपार्नु, सुधार्नु, सिँगार्नु राजनीतिक कार्यकृतिको लालित्य हो, सुन्दर पक्ष हो। विना अर्थको अथ गराइ र अन्यथा खालको अन्त्य गराइले अन्ततः कसैलाई राम्रो गर्दैन।

सदा स्वतन्त्र, शान्त सुरम्य सुदृढ र संपुष्ट राष्ट्र भनेर विश्व इतिहासले अंकित गरेको नेपाललाई अब पछिको इतिहासले कसरी चित्रित गर्छ थाहा छैन। तर यसै प्रकारले अर्थ न वर्थको गायन, विना गन्तव्यको गमन र अहं बोध नै नभएको उत्खननले भोलिको नेपाली राजनीति र राज्य परिपाटीलाई कुन्नि कता पुर्याउला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.