कांग्रेसमा अग्रजको बेवास्ता

कांग्रेसमा अग्रजको बेवास्ता

काठमाडौं: रोगले सताउँदै गएको बुढ्यौली शरीर कक्क्रक पर्दैछ, बोल्ने शक्ति क्षीण भएकाले आँखाको इशारामा मात्र कुरा बुझिन्छ। रगतका नसा खोज्दै घोचिएका घाउ बल्झिएका छन्। शरीरमा बमको छर्राको खत स्पष्ट देखिन्छन्।

यस्तो अवस्थाबाट गुज्रिरहेका नेपाली कांग्रेस बचाउन जीवन समर्पण गरेका रौतहट पटौरा ३ का ७१ वर्षीय मंगनी साह आफूलाई नेताले बेवास्ता गरेकोमा ज्यादै चिन्तित छन्।'प्रजातन्त्र प्राप्ति र संस्थागत गर्न १५ वर्ष जेलजीवन बिताएँ', उनले भने।

प्रजातन्त्रका लागि जीवन दिनेका लागि पद र पैसाको महत्व नभएको उनले बताए। बीपी कोइराला, गणेशमान सिंहलगायत दर्जनौं शीर्ष नेताहरूसँगै जेल बसेका थिए उनी।जीवन र मृत्युको संघारमा उभिएका उनलाई न पार्टीका शीर्ष नेता भेट्न अस्पताल पुग्छन् न त कार्यकर्ता।

बल्खुस्थित स्टार अस्पतालको शय्यामा एक्लै बरबराइरहेका साह उपचारमा खटिरहेका छोरा हरिचन्द्रले मलिन अनुहारमा अन्नपूर्णसँग भने 'बुवालाई अरू केही पिर छैन तर जीवनभर पार्टीका सक्रिय योद्धा भएर पनि मृत्युसँग जुधिरहेको अवस्थामा कोही पनि भेट्न नआउँदा सबैभन्दा बढी चिन्तित हुनुहुन्छ।'

साहलाई भेटन् अहिलेसम्म कांग्रेसका नेता चिरञ्जीवी वाग्ले र गोपालमान श्रेष्ठ मात्रै अस्पताल पुगेका छन्। साहलाई भेटेपछि नेता श्रेष्ठले भने, 'आफूले चिनेको र पार्टीलाई योगदान पुर्याएका व्यक्ति बिरामी पर्दा भेट्न त पर्छ नै।'

आर्थिक अवस्था निम्न भएका उनको उपचारमा खर्च जुटाउनसमेत हम्मेहम्मे परेको छ। 'हामीले बुवाको उपचारमा सहयोगको अपेक्षा गरेका छैनौ', हरिचन्द्रले भने, 'तर बुवाले सम्मान गर्ने नेताहरू आएर भेटिदिएको भए खुसी र शान्ति मिल्थ्यो उहाँलाई। अहिलेसम्म दुईजनाबाहेक अरू नेता आउनुभएको छैन।'

 

कांग्रेस रौतहटका सभापति जितेन्द्र यादवका अनुसार साह जिल्लास्थित कांग्रेसको सबैभन्दा वरिष्ठ र इमानदार नेता हुन्। 'साहले प्रजातन्त्रका लागि संघर्षमा होमिँदा लामो समय जेल बस्नुपरेको थियो। पद र प्रतिष्ठाका लागि उनले कहिल्यै लोभ र मोह देखाएनन्', यादवले टेलिफोन सम्पर्कमा भने।

जीवनभर कांग्रेसमा योगदान पुर्याएका साह पार्टीको १२ औं महाधिवेशनमा महासमिति सदस्य थिए। १३ औं महाधिवेशनमा स्वास्थ्यले साथ नदिएपछि नयाँ पुस्तालाई बाटो खोलिदिएका छन्।

'साहलाई हामीले पार्टीको वरिष्ठ व्यक्तिमात्र होइन अति नै मिलनसार, इमानदार, निष्ठावान र सहयोगी व्यक्तिका रूपमा लिने गरेका छौं', यादवले भने। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि साहको स्वास्थ्य अवस्थाबारे जानकारी छ।

'साह पार्टीका पुराना र इमानदार कार्यकर्ता हुनुहुन्छ। उहाँको योगदान पार्टीमा धेरै छ। उहाँ बिरामी हुँदा पटकपटक पार्टीले हेरेको पनि छ', उनले भने 'पछिल्लो समय भने उहाँ बिरामी हुनुभएको भर्खरै मात्र थाहा पाउँदैछु।'

छोरा हरिचन्द्र बुवालाई नेताहरूले बेवास्ता गरेकोमा दुःखी छन्। 'बुवा २०१५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएर सडकमा उत्रिनुभएको हो। संघर्षमा उत्रिँदा बमको छर्रा समेत लागेको छ उहाँको मुखमा, तर आज नेताहरू उहाँलाई भेट्न आउनुहुन्न।'

उनले पार्टी सभापति शेरबहादुर देउवालाई खबर गर्न जाँदा बेवास्ता गरेको दुःखेसोसमेत गरे। साह निमोनिया, दम र क्षयरोगले थलिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.