ओली सरकारको विश्वास छैनः सिटौला
![ओली सरकारको विश्वास छैनः सिटौला](https://annapurnapost.prixacdn.net/media/albums/577915315c4368.97009876_SaF5fvd0bQ.jpg)
पोखराः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा वर्तमान सरकारले विश्वास जित्न नसकेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय राजनीतिमा विश्वास जित्न नसकेको आरोप लगाए ।
‘वर्तमान राष्ट्रिय राजनीतिमा सरकारले विश्वासको वातावरण बनाउन सकेको छैन,' सिटौलाले भने, ‘राष्ट्रिय राजनीतिमा विश्वास कायम गराउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्छ ।'
सिटौलाले सहमतिका लागि सबै दल एक ठाउँमा आउनुपर्ने आवश्यकता समेत औल्याएका छन् । संविधान जारीसँगै संविधानले निर्दिष्ट गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन सम्पन्न गर्न, भूकम्पपछिको पुनःनिर्माण र देशको आर्थिक समृद्धिका लागि राष्ट्रिय राजनीतिमा सहमतिको विकल्प नभएको सिटौलाको भनाइ छ ।
‘निर्वाचनका लागि सर्वप्रथम कानुन आवश्यक हुन्छ, उक्त कानुन दलहरूको सहमतिबिना बन्न सक्दैन,' उनले भने ।
भूकम्पपछिको पुनःनिर्माण भूकम्प गएको १५ महिनासम्म पनि अघि बढ्न नसक्नु दुःखद् भएको सिटौलाको भनाइ छ । उनले सही लगतको आधारमा पीडितलाई सरकारले तत्काल सहयोग रकम उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
सिटौलाले भने, ‘भूकम्पपछिको पुनःनिर्माण राजनीतिक मुद्दा बनाइनु हुँदैन, त्यसमा कांग्रेसका तर्फबाट हामी सहयोग गर्न तयार छौं ।'
वर्तमानमा सत्ता प्राथमिकताको विषय नभै राष्ट्रिय राजनीतिमा सहमतिका आधारमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्रको प्राथमिकता बन्नुपर्नेमा उनको जोड छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)