'स्थानीय चुनावसम्म यही सरकार’
!['स्थानीय चुनावसम्म यही सरकार’](https://annapurnapost.prixacdn.net/media/albums/578053cb519214.94296771_uRDWXDKhbE.jpg)
काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार दुईपटक प्रधानमन्त्री निवास बालुवाटार पुगे । बिहान प्रधानमन्त्री केपी शर्मा ओली सचिव बैठकलाई सम्बोधन गर्न जानुअघि पहिलोपटक दाहाल बालुवाटार पुगेका थिए । उनीहरूबीच बिहान ८ देखि दसबजेसम्म छलफल भयो ।
बालुवाटार स्रोतका अनुसार दाहाल केन्द्रको जारी पोलिटब्युरो बैठकले सरकारविरुद्ध कुनै निर्णय नगरेको समाचार सुनाउन आतुर थिए । स्रोतका अनुसार भेटमा दाहालले विगतमा एमाले र केन्द्रबीच भएको भद्र सहमति कार्यान्वयनको कुरा उठाएका थिए ।
प्रधानमन्त्री ओलीले कुनचाहिँ बुँदा कार्यान्वयन गर्न बाँकी छ भनेर दाहालसँग प्रतिप्रश्न राखेका थिए । जबाफमा दाहालले सरकारको नेतृत्व परिवर्तनका विषयमा भएको मौखिक सहमतिको प्रसंग कोट्याएका थिए । दाहालको यो प्रसंगपछि ओली अलि कड्किएर प्रस्तुत भएको स्रोतको दाबी छ ।
ओलीले विगतमा एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा आफूसँग सल्लाह नगरेकोमा चित्त दुखाउँदै उसको यो निर्णयले आफूलाई दुःखी बनाएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई चित्त नबुझे कि सरकार ढालिहाल्नु, नभए सरकारलाई काम गर्ने वातावरण बनाइदिनु भनी दाहालसँग आग्रह गरेको स्रोतले जनाएको छ । उनले मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्दा राम्रो हुने सुझाएका थिए ।
शुक्रबार बिहानको भेटमा ओलीले दाहाललाई यस्तो सुझाव दिएको एमाले महासचिव ईश्वर पोखरेलले पनि बताए । ‘प्रधानमन्त्री ओलीले दाहालसँग तपाईंले जे गर्नु छ गर्नुस्, ढिला नगर्नुस् भनेर खरो कुरा गर्नुभएको छ’, महासचिव पोखरेलले अन्नपूर्णसँग भने ।
प्रधानमन्त्री धुलिखेलबाट फर्केलगत्तै दाहाल उनलाई भेट्न दोस्रोपटक प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बिहान दुई घन्टा छलफल गर्दा पनि समय अपुग भएको भनी दुवै नेता थप छलफल गर्ने भन्दै उठेका थिए । साँझ एक घन्टा भएको कुराकानीमा मंसिरमा स्थानीय निर्वाचन गराएपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्ने र अब बीचमा सरकार परिवर्तनका विषयमा कुरा नगर्ने सहमति भएको स्रोतले बताएको छ ।
दाहालले यही सरकारलाई निरन्तरता दिनका लागि पार्टीका तर्फबाट केही मन्त्री फेरबदल गर्ने प्रस्ताव राखेका थिए । तर कुनकुन मन्त्री फेर्ने भन्ने नाम भने दाहालले नदिएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रिय सहमतिको सरकारका लागि निरन्तर छलफल भइरहेको र शुक्रबार पनि दाहालसँग सोही विषयमा छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)