के होला एटीएमको भविष्य
![के होला एटीएमको भविष्य](https://annapurnapost.prixacdn.net/media/albums/5780557a562d86.52380424_3IHyyWnQC6.jpg)
काठमाडौं: वाणिज्य बैंकमा स्तरोन्नति भएपछि अरू वाणिज्य बैंकसरह सेवा विस्तार गर्ने योजनामा रहेको कृषि विकास बैंक एटीएमको विस्तार छ्यापछ्याप्ती पार्ने/नपार्ने अन्योलमा छ । यति ढिलो एटीएम विस्तारमा जोड गर्दा यसका प्रयोगकर्ता घट्ने हुन् कि भनेर बैंक अध्ययनकै क्रममा छ ।
‘मोबाइल बैंकिङ र अनलाइन बैंकिङका कारण एटीएम प्रयोग हुने सहरी क्षेत्रमा एटीएमको भविष्य के हुन्छ भन्न सकिने अवस्था छैन’, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाप्रकाश सिटौला भन्छन्, ‘भटाभट एटीएम खोलौंला तर एटीएम बन्द गर्नुपर्ने अवस्था आउने हो कि भनेर अध्ययन भइरहेको छ ।’
एटीएमलाई मोबाइल बैंकिङले विस्थापित नै गर्छ त भन्ने प्रश्न अन्यत्र पनि उब्जिएको छ । मोबाइल बैंकिङले ल्याएको सहजता र समयको बचतले एटीएम र मानिसबीचको ग्यापलाई बढाउँदै गएको छ ।
विश्व बजारमा एटीएम र बैंकको नयाँ शाखा सञ्चालनमा ल्याउने क्रम निरन्तर घट्दो छ । हातमा भएको स्मार्ट फोनबाट बैंकिङ कारोबार गर्न सकिने प्रविधिको विकासले एटीएम प्रणाली विस्थापित नै हुनसक्ने आँकलन विज्ञ तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् । बैंकको कार्डमात्र भए किनमेलका लागि नगद नचाहिने अवस्था छ ।
नेपालमा एटीएम सेवा सुरु भएको धेरै भएको छैन । २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । यहाँ एटीएमको विस्तार रोकिएको छैन । सँगसँगै ९० प्रतिशत बैंकले मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेका छन् । तैपनि यसको विस्तार क्रमशः घट्दै जाने अनुमान छ । स्मार्ट फोनको बढ्दो प्रयोग र एप्सको विकासले गर्दा कारोबारसमेत मोबाइलमार्फत नै हुन थालेको छ । यसको उत्कृष्ट उदाहरण हो ‘ई सेवा’ ।
यसमार्फत अहिले दैनिक ७ करोड रुपैयाँ ट्रान्सफर हुन्छ । एफ १ सफ्ट कम्पनीका कार्यकारीनिर्देशक सुवास शर्माका अनुसार स्मार्ट फोनमा धेरै काम सम्भव हुन थालेको छ । मोबाइलबाट कारोबार गर्ने क्रम बढ्दो छ । मोबाइल रिचार्जका लागिमात्र दैनिक ८० देखि ९० हजार रुपैयाँ ई सेवामार्फत कारोबार हुन्छ । उनका अनुसार अहिलेसम्म नेपालमा निर्माण भएका मोबाइल बैंकिङ एपले एटीएमलाई नै विस्थापित गर्नसक्ने खालको भइसकेको छैन । ‘तर यो असम्भव भने छैन’, उनले थपे ।
अबको केही वर्षमा मुलुकमा बैंकले शाखा विस्तार नगर्ने मात्र हैन, घटाउँदै लानुपर्ने अवस्था आउनेछ । तैपनि एटीएम बन्द गर्नुपर्ने अवस्था आउन समय लाग्छ । ‘अहिले पनि पहिले एटीएममा पैसा निकालेर भाटभटेनी जाने प्रशस्त छन्’, उनी भन्छन्, ‘जब कि भाटभटेनीमा किनमेल गर्न कार्ड काफी छ ।’
प्रयोग भएका मोबाइल बैंकिङ एपले एटीएमलाई नै विस्थापित गर्नसक्ने भइसकेको छैन । शाखा बन्द भई एटीएम राख्ने क्रमचाहिँ चाँडै सुरु हुने उनको अनुमान छ ।
शर्माका अनुसार एटीएम र मोबाइल बैंकिङ फरक हुन् । कतिपय एटीएमले गर्ने काम मोबाइलबाट गर्न सकिनेछैन । जस्तो, मोबाइलबाट पैसा पठाउन सकिन्छ तर पैसा निकाल्न सकिँदैन । ‘पैसा डिजिटल रूपमा घुमिरहँदासम्म अब एटीएममा पुग्नुपर्ने बाध्यता भने सकिएको छ’, उनले थपे ।
हातमा भएको स्मार्ट फोनबाट बैंकिङ कारोबार गर्न सकिने प्रविधिको विकासले एटीएम प्रणाली विस्थापित नै हुनसक्ने आँकलन विज्ञ तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेका छन्।
अमेरिका, क्यानाडालगायत देशमा चेक डिपोजिट मोबाइलबाट फोटो खिचेर पठाउँदा हुने भैसकेको छ। कानुन अभावका कारण पनि अन्यत्र सम्भव भएका कतिपय सुविधा नेपालमा उपलब्ध हुनसकेको छैन ।
एटीएमको प्रयोग घटेका कारण बैंक अफ अमेरिकाले अहिले कार्डलेस एटीएम सञ्चालनमा ल्याएको छ । यसमार्फत एटीएम कार्डबिनै मानिसले स्मार्टफोन प्रयोग गरी पैसा निकाल्न सक्छन् । भिसा, मास्टर र अरू एटीएम कार्ड निर्माण कम्पनीले पनि पछिल्लो समय मोबाइलमा कसरी छिर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । मोबाइलमा कसरी कार्डको प्रयोग गर्न सकिन्छ, कसरी पैसा निकाल्न सकिन्छ भन्नेमा अनुसन्धान भइरहेको छ । कार्ड उत्पादक कम्पनी स्मार्टफोनले कार्डलाई विस्थापित गर्ने हो कि भन्ने भन्ने त्रासमा रहेको शर्मा बताउँछन् ।
सफ्ट नेप प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनील रिजाल मोबाइल बैंकिङ र मोबाइल वालेटको विकासले एटीएम पूर्ण रूपमा सकिने बताउँछन् । स्मार्ट फोनमार्फत एकाउन्टमा कति पैसा छ, कसलाई कति दिने, कुन ठाउँमा कति प्रयोग गर्ने सबै हिसाबकिताब गरी कारोबार गर्न सकिनु सबैभन्दा सहज हो । नेपालमा पनि अबको केही वर्षमा यो क्रमको विकास हुने र यसले एटीएमलाई क्रमशः विस्थापित गर्ने दाबी उनको छ ।
बढ्दै गएको एपको विकासक्रम र मोबाइल बैंकिङ सेवाले एटीएमलाई तुरुन्तै विस्थापित गर्न नसके पनि केही समयमा विस्थापित नगरी सुखै नहुने सिरान टेक प्रालिका प्रमुख कार्यकारी निर्देशक सजक श्रेष्ठले बताए।
उनका अनुसार अहिले बैंकिङ एप, मोबाइल वालेट एप ई सेवाको प्रयोग बढ्दो प्रयोगले एटीएमलाई तिम्रो काम सकियो भन्ने संकेत गर्न थालिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)