‘काला पहाड’ बन्दै हिमाल
खाङ्सार (मनाङ): मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ ।
सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए । ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो’, उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ ।’ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए ।
विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन् । ‘हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो । आजभोलि त खै हिमालमा समेत हिउँ छैन ? ’ अपर पिसाङका याङ्डुङ गुरुङले भने, ‘६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ । आजभोलि किन यस्तो भएको होला ? ’
पहिले आठ फिटसम्म हिउँ पर्ने गरेको जानकारी गराउँदै खाङ्सारका कुमेर गुरुङ अचेल मुस्किलले एक फिट हिउँ पनि नपर्ने गरेको बताउँछन् । मनाङका गंगापूर्ण हिमाल, लमजुङ हिमाल, पिसाङपिकलगायत हिमालका आधाभन्दा बढी भाग कालो पहाडमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । यसका कारण हिमशृंखला पग्लिएर हिमनदी बढ्न थालेका छन् ।
गंगापूर्ण हिमालको फेदीमा रहेको गंगापूर्ण तालको दुईतिहाइभन्दा बढी भूभाग पुरिइसकेको छ । मनाङको पर्यटकीय आकर्षणमध्येको एक यो तालमा हिउँसँगै पहाडका ढुंगा र माटो बग्ने क्रम अत्यधिक भएपछि ताल पनि संकटमा परेको छ । तल्लो मनाङमा भने विगतको तुलनामा पानीको मात्रा बढ्दै गएको मनाङका पूर्वसांसद रहेका तिल्चे गाउँका कोमल घलेले बताए । जलवायु परिवर्तनका कारण यहाँको दूधखोला नदी निकै बढेको उनले सुनाए ।
‘यो खोला पहिले त निकै सानो थियो’, उनले भने, ‘अहिले एक्कासि बढेर गाउँलाई नै जोखिममा पार्न थालेको छ ।’ दूधखोला बढ्दै गएपछि तिल्चेका पाँच घर बगाएको र थुप्रै जग्गा नदीले कटान गरिदिएको उनले बताए । दूधखोलाको सिरानमा पर्ने पोङ्कर ग्लासियर पग्लने क्रम बढेर गाउँ जोखिममा परेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट तटबन्धन गरिएको छ । तर पोङ्कर ग्लासियर पनि पग्लिँदै जाने र पानी बढी पर्न थालेपछि खोला अस्वाभाविक रूपमा बढ्न थालेकाले स्थानीय भने त्रसित नै छन् ।
प्रायः एकनास बग्ने मनाङका ससाना खोला पनि खहरे खोलाजस्ता बन्न थालेका छन् । बर्सात्मा समेत सिमसिम पानी पर्ने यो ठाउँमा हिजोआज मुसलधारे पानी पर्न थाल्दा खहरेखोला बढेर झनै जोखिम हुन थालेको स्थानीय शिक्षक चेकमान गुरुङले बताए । तिल्चेबाट एक दिनमा पुगिने पोङ्कर ग्लासियर पनि पग्लने क्रम बढ्न थालेपछि काठमाडौं विश्वविद्यालयका हिमनदी विशेषज्ञले अध्ययन गर्न थालेका छन् ।
‘यहाँ हिमनदीहरू पग्लने क्रम तीव्र रूपमा रहेको पायौं’, काठमाडौं विश्वविद्यालयका हिमनदी विशेषज्ञ रिजन कायस्थले अन्नपूर्णसँग भने, ‘जलवायु परिवर्तनको असर के छ ? हिमनदी कसरी पग्लिरहेका छन् ? त्यसको अध्ययन गरिरहेका छौं ।’ विशेषज्ञले विशेष उपकरण जडान गरेर पोङ्कर ग्लासियरबारे अध्ययन गरिरहेको कायस्थले बताए ।
मनाङका हिमनदी पग्लने क्रम र जलवायु परिवर्तनका अन्य असर कुन गतिमा र कसरी भइरहेको छ भन्ने तथ्यांक हालसम्म आउन सकेको छैन । तर त्यहाँ बर्सौंदेखि बस्दै आएका स्थानीयले भने जलवायुको परिवर्तन प्रत्यक्ष रूपमा भोग्दै आएका छन् ।
तिल्चे गाउँका घले भन्छन्, ‘पहिले उत्पादन ढिला हुन्थो, हिजोआज छिटोछिटो हुन थालेको छ । पहिले नहुने नयाँ बाली पनि हिजोआज हुन थालेको छ ।’ हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कहरूमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटी पनि पाइन छाडेको छ ।