मनोज गजुरेललाई देख्ने बित्तिकै किन हाँसे दर्शक

काठमाडौं: ओबामा, मोदी, रामदेव, प्रचण्डलगायत थुप्रै व्यक्तिको रूप धारण गरेर हास्यव्यंग्य गर्ने कलाकार मनोज गजुरेललाई साधारण रूपमै देख्दासमेत दर्शक मरीमरी हाँस्छन् । शनिबार साँझ प्रज्ञाप्रतिष्ठानको हलमा नेपाल होस्टेल एसोसिएसनले आयोजना गरेको सांगीतिक साँझमा मनोजको प्रवेश हुनासाथ दर्शकमा हाँसोको लहर छायो । हुटिङ र तालीको वर्षा भयो ।
उनी साधारण पोसाकमै थिए, आफ्नै वास्तविक रूपमा । तैपनि उनी बोल्नासाथ दर्शकदीर्घामा हाँसोको लहर छुटिहाल्यो । शब्दशब्दमा व्यंग्य गर्ने मनोज दर्शकलाई आजकल यस्तो सम्बोधन गर्दा रहेछन्, ‘आफ्नै पानीजहाजका भावी क्याप्टेनहरू, पूर्वपश्चिम जोड्ने रेलका ड्राइभरहरू, घरघरमा ग्यासको पाइपलाइन जोड्ने इन्जिनियरहरू ।'
उनको सम्बोधनले नै माहोल उचालियो । होस्टेलका विद्यार्थीको ठूलो जमात दर्शकमाझ उनले होस्टेल अनुभव सुनाएर अर्को हंगामा मच्चाए । छात्राको होस्टेल चियाउन जाँदा होस्टेलबाटै रेस्टिकेट भएको किस्सा सुनाए ।
मनोजलगायत थुप्रै कलाकारको प्रस्तुतिले सांगीतिक साँझको रौनक बढायो । बेलाबेलामा चर्चामा आउने गायक हिमाल सागर गीतमा जति ‘सिरियस' देखिन्छन्, मञ्चमा भिन्न देखिए । दर्शकको ताली लुट्ने उनको शैली प्रभावशाली थियो । तीनवटा गीत प्रस्तुत गरेका हिमालले दर्शकको बीचमा गएर सँगै नाच्दै उनीहरूको मन चोरे । त्यही मौका छोपेर युवतीहरूले सेल्फी लिन भ्याए । गिनिज बुकमा नाम लेखाउन तम्सिएका कलाकार शंकर बीसी र पार्वती राईको नृत्य कार्यक्रमको अर्को आकर्षण थियो ।
झट्कलिो नृत्यमा जब शंकरले पार्वतीलाई जुरुक्क उचाले तब हल पनि जुरुक्कै उचालिएझैं भयो । गरिब तथा मेहनती विद्यार्थीको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा लोकगायिका सुनीला गुरुङ, जीना रसाइलीको प्रस्तुति पनि बेजोड थियो । जीनाले पहिला ‘यो जुनीको सुरुआत' गीत सुनाएपछि बालबालिकालाई नचाउँदै ‘यी आँखामा तिमी छ्यौ' सुनाइन् । कार्यक्रममा यीलगायत इन्दिरा जोशी, विल्सनविक्रम राईलगायतले प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
