पौडी खेल्दा सावधान

पौडी खेल्दा सावधान

काठमाडौं: ६ वर्षीया आयशा थापालाई पौडी खेल असाध्यै मनपर्छ। संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्जमा कक्षा एकमा पढ्ने आयशा विद्यालयले धुम्बाराहीस्थत एक पुलमा पौडी खेलाउन लैजाँदा निकै रमाउँछिन्।

थापागाउँस्थित पाठशाला स्कुलमा पढ्ने उनकी दिदी बृन्दा पनि सातामा पौडी खेल्न जाने दिन कहिले आउला भनेर गन्दै बस्छिन्। आयशा र बृन्दालाई जस्तै धेरै भाइबहिनीलाई पनि पौडी खेल्न मन लाग्छ होला। हुन त वर्षायाम सुरु भइसक्यो। तैपनि घाम चर्किएको बेलामा खपिनसक्नु गर्मी हुन्छ।

यस्तोमा पौडी पोखरीमा डुबुल्की मार्ने इच्छा कसको पो नहोला। त्यसमा पनि हिजोआज त अधिकांश विद्यालयले साताभरिमा एक, दुई दिन पौडी खेल्न आफ्ना विद्यार्थीलाई लैजाने गरेकाले विद्यार्थीको पौडी खेल्ने रहर पनि पूरा हुने गरेको छ।

भाइबहिनीहरूको पौडी खेल्ने रहरलाई पूरा गर्न हाल उपत्यकाका धेरै ठाउँमा पौडी पोखरीहरू सञ्चालनमा आएका छन्। त्यसैगरी साँगास्थित काठमाडौं भ्याली फन पार्क, चोभारस्थित हुपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कलगायतका स्थानहरूमा बिदाका दिनमा गएर पौडी खेल्ने भाइबहिनीको जमात पनि बढ्दो छ।

पौडी खेल्ने रुचि धेरैमा भए पनि यसको सीप सबैमा नहुन सक्छ। सीप भएको अवस्थामा पनि सामान्य कुराहरूमा ध्यान नदिँदा धेरै दुर्घटनाहरू निम्तिन सक्छ। त्यसैले भाइबहिनीले पौडी खेल्न जाँदा सबैभन्दा पहिले यसका लागि आवश्यक सामग्री स्विमिङ कस्ट्युम, ट्युब, क्याप, चस्मा, सन ब्लक, स्लिपरलगायत तयार गर्नुपर्ने हुन्छ।

 

पौडी खेललाई भाइबहिनीले गर्मी याममा विशेष मन पराए पनि यो खेललाई अन्य समयमा पनि खेल्दा शारीरिक रूपमा स्वस्थ हुन मद्दत पुग्ने राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक ओङदेन लामाले बताए।

पौडी खेल्नको लागि कुनै पनि पौडी पोखरीमा जाँदा त्यहाँको नियम र त्यसको गहिराइको बारेमा बुझ्नुपर्ने बताउँदै उनी भन्छन्, 'आफ्ना अभिभावकसँग जानुपर्छ र पुलमा सुरक्षा अपनाउनुपर्छ। पौडी पोखरीमा जानुअगाडि सावर लिने, जता पायो उतै दौडनु हुँदैन र खेल्दा साथीलाई धक्का लगाएर पनि खेल्नु हुँदैन।'

पुलको गहिराइ पनि फरकफरक हुने हुनाले सिकारुले आफ्ना अभिभावक वा ट्रेनरको सहायताले कम गहिराइमा खेल्नुपर्ने र अन्यले आफूले सक्नेसम्मको गहिराइमा मात्रै जानुपर्ने उनको सल्लाह छ।

कतिपय भाइबहिनीहरू गाउँघरमा मात्रै नभई काठमाडौं उपत्यकामा पनि विभिन्न खोलाहरूमा पौडी खेल्ने गरेका छन्। अहिले वर्षाको समयमा यस्ता खोलामा पौडी खेल्दा गहिरो ठाउँमा पुग्दा वा अचानक आउने बाढीले ज्यान नै जोखिममा पर्न सक्छ। त्यसैले यस्ता कुरामा सबै भाइबहिनी सचेत हुनु आवश्यक छ।

खोलानालाको पानीमा मात्रै नभई पौडी पोखरीहरूमा पनि प्रदूषित पानीले गर्दा बालबालिकाका छालामा विभिन्न खाले समस्या आउने गर्छ। त्यसैगरी पौडी खेलेर बाहिर निस्कँदा उनीहरूको शरीर घामपानीमा पर्छ। यस्तो अवस्थामा छालामा एलर्जी हुने बढी सम्भावना रहेको चर्मरोग विशेषज्ञ डा.राजेश शाक्य बताउँछन्।

उनका अनुसार बालबालिकाका छालामा दागहरू देखा पर्ने, औंलाको कापा, कानको मुनितिर चिलाउने र फंगसको संक्रमण हुने जस्ता समस्या आउने हुँदा उसले प्रयोग गरेका रुमाल र लुगा अरूले पुनः प्रयोग गर्दा विस्तारै परिवारका अन्य सदस्यमा पनि छालाका समस्या देखा पर्न थाल्ने गर्छ।

त्यसैले नाक, कान, आँखा र कपाल छोपी पौडी पोखरीमा जानु ४५ मिनेट अगाडि वाटर रेसिस्टेन्ट सन ब्लक अनुहार, पाखुरालगायतका घाममा देखिने अंगमा लगाई पौडी खेल्न भाइबहिनीलाई डा.शाक्यको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.