'स्कुलको नाम सुन्दा डर लाग्छ'

'स्कुलको नाम सुन्दा डर लाग्छ'

काठमाडौं:  नर्सरीदेखि नै पढेकाले होला मलाई मेरो स्कुल असाध्यै मन पर्छ। त्यस दिन बिहानैदेखि पानी परे तापनि म र एक कक्षामा पढ्ने मेरो भाइ आनन्द समयमै स्कुल पुगेका थियौं। म कक्षामा अन्तिम दोस्रो बेन्चमा बसेको थिएँ। अन्तिम बेन्चमा भने मेरा साथीहरू कृपा, सुनिता, जानकी र रोजिना बसेका थिए।

नेपाली विषयको कक्षा भइरहेको थियो। म्यामले बोर्डमा लेखेको कुरा हामीले कापीमा सार्दै थियौं। यत्तिकैमा कड्याक कड्याक गरेको आवाज आउन थाल्यो। मैले साथीहरूलाई भागौं भागौं छिटो केही हुन्छ भनेको थिएँ। तर साथीहरूले नभागौं भने।

हामी सबैजना एकदमै डराएर चिच्याउन थाल्यौं। एकैछिनमा बम पड्केको जस्तो ठूलो आवाज आयो र पर्खालका ब्लकहरू झर्न थालेपछि हामीले भाग्ने कोसिस गर्दा पनि भाग्न सकेनौं र हामी सबै बेहोस भयौं। मसँगै बसेका कृश्चल, कुसुम र सुयोग्यलाई के भयो मलाई थाहा छैन।

त्यसपछि सर म्यामहरू त्यहाँ आएर मलाई पाटन अस्पताल लैजानुभयो रे। मलाई त्यति याद छैन। पाँच दिनसम्म अस्पतालमा उपचार गरेपछि मलाई घर पठाइदिनुभयो। मलाई छाती, आँखा, मुख, कान र घाँटीमा चोट लागेको थियो।

अहिले औषधि खाइरहेकोले धेरै दुखेको त छैन। तर मेरो आँखामा रगत जमेकोले आफ्नो आँखा देखेर आफैंलाई निकै डर लाग्छ। त्यसैले मैले ऐना हेरेर डराउँछु भनेर ममीले घरका सबै ऐनालाई नै छोपिदिनुभएको छ। टाउकोमा पनि केही भएको छ कि भनेर सीटी स्क्यान पनि गराइसक्नु भयो ममीड्याडीले। तर रिपोर्टमा त्यस्तो केही खराबी देखिएको छैन रे।

 


मलाई विनीता म्याम, सन्ध्या म्याम र अरू सबै सर म्याम मन पर्छ। सबै मलाई अस्पतालमा भेट्न पनि आउनुभएको थियो। उहाँहरूले ‘पहिले आफू निको होउ अनिमात्रै स्कुल आउ है' भन्नुभएको छ।

मेरो स्कुल ब्याग र कापी किताब पनि सबै कक्षामै छ। ममीले गएर ल्याइदिन्छु भन्नुहुन्छ। तर त्यहाँ अर्को पनि एउटा भित्ता छ। त्यो पनि झरेर ममीलाई किच्छ भनेर मैले जान दिएको छैन।

यो घटना भएदेखि नै म राति निदाउन सकेको छैन। केही खान पनि मन लाग्दैन। फेरि पनि यस्तै होला कि भनेर डर लागिरहन्छ। सपनामा पनि आएर म तर्सिने हुनाले ममीले मलाई एकछिन पनि एक्लै छाड्नुभएको छैन।

कहिलेकाहीँ म बिरामी हुँदा ममीले स्कुल नजाउ भन्नुहुन्थ्यो। म जिद्दी गर्दै औषधि खाएर भए पनि स्कुल जान्थेँ। तर अब त मलाई कसैले स्कुल भनेको सुने पनि डर लागेर आउँछ। मलाई निको भएपछि पनि स्कुल जान सक्छु कि सक्दिनँ, खै थाहा छैन ?

(असार १६ गते टौखेलस्थित पुष्पाञ्जली उमाविको पर्खाल ढलेर घाइते भएकी कक्षा ३ की छात्रा सिंहसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.