मलेसियामा नेपाली गार्ड असुरक्षित

मलेसियामा नेपाली गार्ड असुरक्षित

मलेसियाः गत वर्ष मलेसियाको सनबेस्थित सासा सेक्युरिटी कम्पनीमा कार्यरत जुम्लाका हरि महतराको कार्यस्थलनजिकै हत्या भयो । गत वर्षको सेप्टेम्बर ७ मा लुटेरा समूहको आक्रमणमा परेका महतराले ज्यान गुमाउँदा एक अर्का नेपाली गम्भीर घाइते भएका थिए ।

सिन्धुपाल्चोकका गोपाल तामाङलाई त्यो बेलाको घटना सम्झिँदा अहिले पनि डर लाग्छ । पोर्ट केलाङमा सुरक्षा गार्डका रूपमा कार्यरत तामाङकै आँखा अगाडिबाट लुटेरा समूहले कम्पनीको लरी लुटेर लगे । यो घटनाबाट ज्यान बचाएका तामाङसँगै काम गर्ने अर्का साथीलाई भने लुटेराले कुर्सीमै बाँधेर राखे । तामाङले त्यो घटना सम्झिँदै भने, ‘ती साथीलाई लुटेरा समूहले बाँधेका थिए तर हामीलाई देखेनन्, हामीले पनि प्रतिकार गर्न सकेनौं ।' प्रतिकार गरेको भए ज्यान जान सक्ने तामाङ बताउँछन् ।

मलेसियामा सुरक्षा गार्डकै सुरक्षाको टुंगो नभएको उनीहरूको गुनासो छ । नेपालबाट मलेसिया रोजगारीका लागि आउनेमध्ये अधिकांशको रोजाइमा सेक्युरिटी गार्ड नै पर्छ । ‘सजिलो काम र राम्रो दाम' भनेकै आधारमा धेरै नेपाली सुरक्षा गार्डमा काम गर्न आकर्षित हुन्छन् । नेपालमा रहँदा प्रहरी र सेनामा काम गरेका मात्रै होइनन्, सिभिलको पनि आकर्षण सुरक्षा सेवामा रहेको पाइन्छ । कम्पनीको कर्कस आवाज, पसिनैपसिना भएर काम गरिरहनु नपर्नेलगायतका कारण पनि सुरक्षा गार्डतर्फ नेपाली श्रमिक आकर्षित भएका हुन् । तर, मलेसियामा व्याप्त असुरक्षाबाट भने यिनीहरू पनि अछूतो छैनन् ।

सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीलाई अरूभन्दा बढी सुरक्षित श्रमिकका रूपमा हेरिए पनि उनीहरू असुरक्षित रहेको स्वयं भुक्तभोगी बताउँछन् ।सुरक्षाको विषयमा नेपालबाट मलेसिया आउनुअघि सोचेको भन्दा फरक पाएको उनीहरूको कथन छ । जुम्लाका उपेन्द्र न्यौपानेको अनुभवमा पनि मलेसियामा सुरक्षा गार्डको काम नेपालमा बताएअनुसारको छैन ।

‘यहाँ आएर भोग्नेले मात्र थाह पाउँछ', न्यौपानेले भने । उनका अनुसार मलेसियाका सेक्युरेटी गार्ड कम्पनीले आफ्ना श्रमिकलाई न्यूनतम सुविधा पनि दिन चाहिरहेका छैनन्् । बिरामी हुँदा समेत उपचार गर्न कतिपय सेक्युरिटी कम्पनीले नाइनास्ती नै गर्ने न्यौपाने आरोप लगाउँछन् ।

मलेसियाको पोर्ट केलाङमा सेक्युरिटीमै कार्यरत दिलीप राईलाई समेत मलेसियाको सेक्युरिटी सुरक्षित नरहेको अनुभव छ । उनका अनुभवमा सामाजिक सुरक्षाबाहेकका अन्य सेवासुविधासमेत सुरक्षा गार्डले पाइरहेका छैनन् । ३० दिन काम गर्नुपर्ने बाध्यता अनि त्यसबीच पनि छुट्टी नपाउने समस्या छ ।

मलेसियामा नेपाली र स्थानीयबाहेक अन्य देशका नागरिकलाई सुरक्षा गार्डका रूपमा काम गर्ने वैधानिक अधिकार छैन । मलेसिया सरकारले मलेसियन र नेपालीलाई मात्र गार्डका रूपमा काम दिने गरेको छ । पछिल्लो समय मलेसिया सरकारले भूपू प्रहरी वा सेनालाई मात्र सुरक्षा गार्डका रूपमा श्रम स्वीकृति दिँदै आएको छ । सुरक्षा गार्डका रूपमा मलेसिया आउन चाहने नेपालीले अनिवार्य तालिम लिएर आउनुपर्ने नियम लागू गरे पनि म्यानपावरले ती नेपालीलाई तालिम लिएको प्रमाणपत्रमात्र दिँदै आएका छन् ।

सुरक्षामा संवेदनशीलता भएको भन्दै मलेसियाका सेक्युरिटी कम्पनीले तालिम लिएर मात्र मलेसिया आउन भने पनि म्यानपावर कम्पनीको चतुर्‍याइँ सेक्युरेटी कम्पनीले बुझ्न सकेका छैनन् । मलेसियामा बिनातालिम पठाइएका र भाषाको ज्ञान कमजोर भएका कारण पनि सुरक्षा समस्या आउने भुक्तभोगी बताउँछन् ।

मलेसियामा सुरक्षा गार्डकै सुरक्षाको टुंगो नभएको नेपाली श्रमिकको गुनासो छ ।

मलेसियाको जोहरमा कार्यरत पाँचथरका थाकुहाङ मेरिङ लिम्बू पनि नेपालबाट म्यानपावर कम्पनीले गर्ने ‘काइते' कामका कारण धेरै नेपालीले दुःख पाइरहेको बताउँछन । उनका अनुसार बिनाहतियारका सुरक्षागार्डले प्राण संकटमा पारेर काम गरिरहेका छन् । लुटेरा समूहले आक्रमण गरिहाले प्रतिकारका लागि केही उपाय नहुने उनले बताए ।

जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडा भने सुरक्षाका लागि आएका नेपाली श्रमिकको जीउधनको सुरक्षाको ग्यारेन्टी मलेसिया सरकार र सम्बन्धित कम्पनीले लिनुपर्नेमा जोड दिन्छन् । सुरक्षागार्डका रूपमा कार्यरत नेपाली घाइते हँुदा उनीहरूले पाउनुपर्ने बिमा रकम दिन पनि कम्पनीले आलटाल गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.