नमुना औद्योगिक ग्राम बन्दै सुर्खेतका तीन गाउँ

नमुना औद्योगिक ग्राम बन्दै सुर्खेतका तीन गाउँ

सुर्खेतःसुर्खेतका तीनवटा गाउँ पर्यावरणीय तथा नमुना औद्योगिक ग्रामका रूपमा विकास हुने भएका छन् । जिल्लाको पूर्वमा रहेको छिन्चुस्थित कालीदमार, वीरेन्द्रनगरस्थित नयाँ गाउँ र पश्चिम कुनाथरीमा रहेको सिरुबारीलाई नमुना औद्योगिक ग्राम बनाउन लागिएको हो ।

यी तीनवटै गाउँ अब कृषि तथा पर्यटनको केन्द्र बन्नेछन् भने हरेक गाउँमा कम्तीमा चारवटा मझौला उद्योग स्थापना हुनेछन् ।

सुर्खेत उद्योग वाणिज्य संघको पहलमा जिल्लाका तीनवटा गाउँलाई पर्यावरणीय गाउँ बनाउन लागिएको हो । त्यसका लागि जिल्ला परिषद् र नगरपरिषद्ले समेत स्वीकृति दिईसकेका छन् । वीरेन्द्रनगरस्थित थारु जातिको बाहुल्यता रहेको नयाँ गाउँलाई कृषि तथा पर्यटनको केन्द्र बनाउन लागिएको हो । गाउँमा अब होम स्टे सञ्चालनको तयारी सुरु गरिएको छ । यस्तै गाउँलाई कृषि उत्पादनको केन्द्र बनाउने र उत्पादन भएको वस्तुको बिक्री गर्ने ग्यारेन्टी सुर्खेत उद्योग वाणिज्य संघले लिएको छ ।

दुई सय ४८ घरधुरी रहेको नयाँ गाउँमा थारु जातिको बाहुल्यता छ । आफ्नो गाउँ नमुना बन्ने भएपछि थारु वस्तीमा खुसीयाली छाएको छ । स्थानीय थारु अगुवा बादुराम थारुले भने, ‘हामीसँग आफ्नै कला र संस्कृति छ, काम गर्ने जाँगर पनि छ । अब हामी गाउँमा पर्यटक भित्रयाउनेछौं, सँधै अर्काको घरमा काम गरेर कसरी घर चलाउनु ? ' उनले अब गाउँमा सबैले अर्गानिक कृषि उत्पादन गर्ने र होम स्टे सञ्चालन गर्ने योजना पनि सुनाए ।

नयाँ गाउँमा कम्तीमा चारवटा मझौला उद्योग स्थापना गरिदिने उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग सञ्चालन भएपछि रोजगारी पाइने र पर्यटकलाई पनि भित्रयाउन पाइने भन्दै स्थानीय वासिन्दा हर्षित बनेका छन् । गाउँमा होम स्टे सञ्चालन गर्न स्थानीयलाई तालिमको व्यवस्था गर्न लागिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नमुना गाउँलाई पर्यावरणीय र औद्योगिक ग्रामका रूपमा विकास गर्न लागिएको बताए । ‘कालिदमारलाई अर्गानिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउनेछौं, नयाँ गाउँ पर्यटन केन्द्र बन्नेछ', अधिकारीले भने, ‘अब गरिब भयौं भनेर पीडा सुनाएर मात्र हुँदैन, उत्पादनका लागि पनि तयार हुनुपर्छ । नमुना गाउँलाई अब हामीले आफै उत्पादन गर्न सक्षम बनाउनेछौं, उत्पादनको बजारीकरको जिम्मा पनि हामीले नै लिनेछौं ।'

नमुना तथा पर्यावरणीय गाउँ विकासका लागि जिल्ला विकास समिति र नगरपालिकाले सहयोग गर्नेछन् । गाउँमा भौत्तिक पूर्वाधारको विकास र अन्य सुविधा विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता ती कार्यालयले जनाएका छन् । जिविसले नमुना गाउँको विकासमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले भने, ‘नमुना गाउँ बनाउन हामीले पूर्वाधार विकासको काम गर्नेछौं, यसले जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।'

नयाँ गाउँमा होम स्टे सञ्चालनका लागि जिविसले सहयोग गर्ने उनको भनाइ छ । होम स्टे सञ्चालन भएमा पर्यटक भित्रिने र त्यसले थारु समुदायको आयआर्जनमासमेत वृद्धि हुने उनको विश्वास छ । जिल्ला परिषद्ले नै यो विषय पारित गरिसकेको भन्दै रेग्मीले नमुना औद्योगिक ग्राम स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

नमुना तथा औद्योगिक ग्राम स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले आवश्यक तयारी अगाडि बढाएको हो । संघले त्यसका लागि ती गाउँमा स्थानीय बासिन्दासँग छलफल सुरु गरेको छ । आफ्नो गाउँ नमुना बन्ने भएपछि स्थानीयले पनि खुलेर साथ दिएका छन् ।

आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र पर्यटनको सम्भावना जिल्लामा धेरै भएकाले पनि आफूहरू नमुना गाउँ स्थापनाका लागि प्रयासरत रहेको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । यसले स्थानीयको आयआर्जनमा वृद्धि हुने र पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा संघले गरेको छ । नमुना गाउँका लागि छनोट भएका स्थानमा लगानीकर्ता पनि लगानी गर्न इच्छुक देखिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.