नेपाल-भारत सम्बन्ध सुधारमा जोड
काठमाडौः नेपाल-भारतबीच केही समय तिक्तता उत्पन्न भए पनि आगामी दिनमा सम्बन्ध सुधारेर जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल-भारत मैत्री समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे ।
पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको बताए । ‘तर यहाँ एउटा सरकारले भारतसँग सम्बन्ध राम्रो बनाउने अर्को आएर भत्काउने गरेको छ । हामीकहाँ छिमेकी मुलुकलाई हेर्ने स्थिर नीति किन छैन ? ' झाले प्रश्न गरे । उनले भारतसँग नेपालको अटुट परम्परागत सम्बन्ध रहेको बताए ।
एमालेका नेता भरतमोहन अधिकारीले भारतीय स्वतन्त्रता संग्राममा मनमोहन अधिकारी र बीपी कोइरालाले महत्वपूर्ण योगदान दिएको स्मरण गरे । गत वर्ष भारतले नेपालमा लगाएको नाकाबन्दी र त्यसपछि सम्बन्धमा आएको तिक्तताप्रति संकेत गर्दै उनले भने, ‘तर हाम्रो सम्बन्धमा अहिले सुधार आइसकेको छ । अब सम्बन्ध कसरी राम्रो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ ।'
पूर्वमन्त्री तथा नेपा-भारत प्रबुद्ध समूहका सदस्य नीलाम्बर आचार्यले भारत स्वतन्त्र हुनुअघिदेखि नै नेपाल–भारतबीच मित्रता रहेको बताए । गत वर्ष नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि दुई देशबीचको सम्बन्ध बिग्रेकोतर्फ इंगित गर्दै पूर्वराजदूतसमेत रहेका आचार्यले भने, ‘नजिक रहेका छिमेकी मुलुकहरूबीचको सम्बन्धमा यदाकदा समस्या देखापरेका छन् । तर फेरि सम्बन्धमा सुधार आएको छ । अहिले पनि सम्बन्ध सुधारेर जाने बेला हामीमाझ आएको छ ।'
माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेलले दुई विशाल छिमेकी मुलुक चीन र भारतबीच रहेको नेपालले दुवै मुलुकको समृद्धि चाहेको बताए । उनले छिमेकी मुलुकबाट मुलुकको सावैभौमसत्ता र अखण्डताप्रति बाधा नआओस् भन्ने नेपाली जनताको चाहना रहेको बताए ।
राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले भारतले विकासमा फड्को मार्दै वार्षिक ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको भएपनि नेपाल विकासमा अझै पछाडि परेको बताए ।
मालेका महासचिव सीपी मैनालीले नेपाली नेता र जनताले भारतीय स्वतन्त्रता संग्राममा रगत बगाएको स्मरण गरे । उनले नेपालको अस्थिरताले चीन र भारत दुवैलाई बेफाइदा रहेको बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतसँगको सम्बन्ध ‘प्राकृतिक र मित्रवत्' रहेको दाबी गरे ।
उनले दुई देशबीचको सम्ंबन्ध सिंहदरबार र दिल्ली दरबारले नभई जनताले तय गरेको बताए । नयाँ शक्ति पार्टीकी अन्र्तराष्ट्रिय विभाग प्रमुख हिसिला यमीले भारत र नेपालबीचको सम्बन्धलाई अझै माथि उठाउनुपर्ने बताइन् ।
सो अवसरमा भारतीय राजदूत रन्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनअनुसार आफ्नो विदेश नीतिमा छिमेकीसँगको सम्बन्ध पहिलो प्राथमिकतामा रहेको बताए । ‘नेपाललगायत छिमेकी मुलुक तथा सार्कका अन्य सदस्य देशसँगको सम्बन्धलाई हाम्रो विदेश नीतिमा प्राथमिकता दिइएको छ', राजदूत रेले भने ।
भारतीय स्वतन्त्रता दिवस मनाइयो
काठमाडौंः काठमाडौंस्थित भारतीय दूतावासमा सोमबार भारतको ७० औं स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा भारतीय राजदूत रञ्जित रेले भारतीय राष्ट्रिय झन्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाए ।
सन्देशमा छिमेकमा शान्ति र स्थायित्वका लागि भारतको सहयोगमा जोड दिइएको छ । राजदूतले उक्त अवसरमा भारतीय सेनाका भूपूसैनिकका चौध विधवा, आ िश्रत तथा शारीरिक रूपले अशक्त भूपूसैनिकलाई चार करोड रुपैयाँको चेक तथा कम्बल वितरण गरे । साथै राजदूतले नेपालका विभिन्न स्थानका ५९ पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुस्तकसमेत उपहारस्वरूप प्रदान गरे ।
यस्तै विभिन्न अस्पताल, गैरनाफामूलक संघसंस्था तथा शैक्षिक संस्थालाई शैक्षिक तथा स्वास्थ्य सेवा उन्नयनका लागि ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !