‘सहिद तथा बेपत्ता परिवारको समस्याबाट टाढा रहन सक्दिन’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा बेपत्ता परिवारका लागि राज्यले गर्न सक्ने सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको सामूहिक भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सहिद तथा बेपत्ता परिवारलाई राहत दिने र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने आफूले ध्यान केन्द्रित गरेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले भने,‘जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो। अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु। अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने सहयोग गर्न म तयार छु।’
उनले आफ्नै नेतृत्वमा दश वर्षे जनयुद्ध भएको र त्यो क्रममा धेरैले आफ्नो जीवन बलिदान दिएकाल आफू त्यसबाट अलग हुन नसक्ने बताए। उनले भने,’तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन र शान्ति प्रक्रियाका बाँकी काम सफल पार्न कोशिश हुन्छ, यसमा मलाई तपार्इँहरुको साथ र सहयोग चाहिन्छ। त्यो हुन्छ भन्ने विश्वास लिएको छु।’
भेटमा सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न र जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। यसैगरी उनीहरुले सहिद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीलाइृ आग्ह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !