एक लाख १० हजार नेपालीलार्इ ६ महिनाभित्रै राष्ट्रिय परिचयपत्र दिइने
काठमाडौं: निर्वाचन आयोगले सङ्कलन गरेका विवरणलाई प्रयोग गर्दै पहिलो चरणमा ६ महिनाभित्र एक लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ।
नेपाल बाहेक विश्वका सयभन्दा बढी देशमा राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन्। राष्ट्रिय परिचयपत्रप्राप्त नागरिकको सम्पूर्ण वैयक्तिक विवरण भण्डारण एक स्वचालित चिप्स मार्फत रहने व्यवस्था मिलाइएको छ। परिचयपत्र वितरणका लागि ६ महिनाका अवधिमा सात हजार राष्ट्रसेवक कर्मचारी परिचालन गरिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले जानकारी दिए।
नेपालको संविधानको धारा ५१च(७) मा नागरिकका सूचना र विवरण एकीकृत रुपमा व्यवस्थापन गर्न एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली लागू गरिने भनिएको छ। राष्ट्रिय परिचयपत्रप्राप्त व्यक्ति सेवा प्रवाह गर्ने सरकारी निकाय लोकसेवा आयोग, राहदानी विभाग, जिल्लास्थित मालपोत यातायात व्यवस्था स्थानीय पञ्जीकरण कार्यालय तथा स्थानीय निकाय, बैंक, टेलिकम लगायत संस्थासँग आबद्ध हुन्छ।
एसियाली विकास बैंकको सहयोगमा रु ५१ करोड ७१ लाख ४२ हजार ५१ का लागतमा राष्ट्रिय परिचयपत्र प्रणालीको केन्द्रीय प्रणाली र स्थानीय प्रणाली स्थापना भई परिचयपत्र वितरण गरिसकिने छ। राष्ट्रिय परिचयपत्रबाट नागरिकको शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहजता, विकास निर्माण र योजना तर्जुमा, सेवा प्रवाहमा चुस्तता, प्रभावकारी र सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस !