राप्रपामा राणाविरुद्ध विद्रोहको तयारी
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रूपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ । यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूले हस्ताक्षर अभियान थालेका छन् । एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रबार सम्पन्न हुने स्रोतले बतायो ।
राणाको विरोधमा मंगलबार साँझसम्म झन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको राप्रपाका एक नेताले दाबी गरेका छन् । उनीहरूले आगामी शनिबार अध्यक्ष राणालाई अल्टिमेटमसहितको ध्यानाकर्षणपत्रसमेत बुझाउने तयारी गरेका छन् । सो पत्रमा पहिलो सर्तका रूपमा राप्रपा नेपालसँगको पार्टी एकता जुन ठाउँबाट अवरुद्ध भएको हो सोही ठाउँबाट सुरु गर्न आग्रह गरिएको छ । राणाले त्यसलाई अस्वीकार गरेमा पार्टीको नेतृत्वसमेत परिवर्तन गर्न सकिने चेतावनी उनीहरूले दिएका छन् ।
गत साउन ११ र १२ गते बसेको राप्रपा केन्द्रीय समिति बैठकले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । त्यसैगरी साउन २१ गते राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले संयुक्त विज्ञप्ति प्रकाशित गरी साउन २५ मा पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए ।
तर साउन २४ गते पार्टीको आन्तरिक विधानमा छलफल गर्न बाँकी रहेको भन्दै राप्रपा अध्यक्ष राणाले विज्ञप्ति प्रकाशित गरी एकता तत्काल स्थगित भएको बताएका थिए । राणाको सो घोषणापछि आफ्नै पार्टी राप्रपाभित्र चरम असन्तुष्टि बढेको छ ।
असन्तुष्ट केन्द्रीय सदस्यहरूले पहिलो चरणमा राणालाई पार्टी एकताका लागि बाध्य पार्ने र सो नभएमा राणालाई नेतृत्वबाट हटाउने रणनीति बनाएको स्रोतले बतायो । राणाले एकता प्रक्रिया अगाडि नबढाए पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष बनाउने तयारी उनीहरूको छ ।
हस्ताक्षर गर्ने नेताहरूमा पार्टी नेता लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, प्रेमबहादुर भण्डारी, भुवन पाठक, रोशन कार्की, तोरणबहादुर गुरुङ, आङछिरिङ लामा, भीमप्रसाद गौचन, बिन्दु पहाडी, नीलकण्ठ काफ्ले, जगत गौचन, जयन्त चन्द, वसन्तमानसिंह अधिकारीलगायत छन् । यसरी दबाब दिँदा पनि राणाले बेवास्ता गरे उनलाई छाडेर भए पनि राप्रपा नेपालसँग एकताका लागि असन्तुष्ट समूहले वार्ता गर्ने भएको छ ।
राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले रोकिएको वार्ता सुरु गरी पार्टी एकता अघि बढाउन आफ्नो तर्फबाट दुई अलग वार्ता समिति बनाएका छन् । ती दुई समूहमध्ये एकले राप्रपा अध्यक्ष राणासँग र अर्कोले राप्रपा नेपालका अध्यक्ष थापासँग वार्ता गर्नेछन् ।
राणासँग वार्ता गर्नका लागि गठित समितिमा प्रेमबहादर भण्डारी, भुवन पाठक, कृष्णप्रताप मल्ल, आङछिरिङ लामा, राजेश गिरी, रवीन्द्रप्रताप शाह, धनबहादुर बुढा छन् । त्यसैगरी थापासँग वार्ता गर्नका लागि रोशन कार्की, तोरणबहादुर गरुङ, भीमप्रसाद गौचन, वसन्तमानसिंह अधिकारी, ठाकुरसिंह थारू, सानुकाजी हेक्का, राजेन्द्र गुरुङ छन् ।
प्रतिक्रिया दिनुहोस !