चीनको सल्लाह : दलहरु मिलेर अघि बढ
काठमाडौँ : चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका छन्।
करिव आधा घन्टा लामो भेटमा महराले नेपालको पछिल्लो घटनाक्रमबारे जानकारी दिदै प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। चिनियाँ प्रधानमन्त्रीले चीनसँग भएका सम्झौता कार्यान्वयनका विषयमा जिज्ञासा राखेका छन् । चिनियाँ प्रधानमन्त्री र उपप्रधानमन्त्री महराबीच दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको नेपाली राजदूतावास बेइजिङले उल्लेख गरेको छ ।
भेटमा चिनियाँ प्रधानमन्त्रीले नेपालको सामाजिक आर्थिक विकासमा चीनको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण वातावरण तयार पार्न र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेपछिको राजनीतिक घटनाक्रम जानकारी गराउन प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन पुगेका महराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री लीसँगको भेटमा चीनका लागि कार्यावाहक नेपाली राजदूत हरिश्चन्द्र घेमिरेले समेत सहभागी थिए । महरासँगको भेटपछि प्रधानमन्त्री लीले भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु मिलेर संविधानलाई कार्यान्वयनको दिशामा अग्रसर हुनेछन् भन्ने मेरो विश्वास छ।’
चीन भ्रमणमा रहेका महराले मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । चिनियाँ पक्षले नेपालको राजनीतिक स्थायित्व र शान्तिका लागि जोड दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !