'नेपालमा भारतीय राष्ट्रपतिको भ्रमण छिटै'
काठमाडौं : नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय राष्ट्रपति प्रणब मुखर्जीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन्।
राजदूत रेले छिट्टै दुई देशमा उच्च तहको भ्रमण हुने जानकारी दिएका छन्। उनले भने, 'बिहीबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत जाँदै हुनुहुन्छ। राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका विषय निधीजीको भ्रमणका बेला टुंगो लाग्नेछ।'
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा राजदूत रेले द्विपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भने,‘यस्ता किसिमको भ्रमण र अन्र्तक्रियाले आपसी सम्बन्ध सुमधुर बनाउँछ।’
भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदुत रायले थपे,‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौं, त्यसको लागि भारत सधै नेपाललाई सहयोग गर्न तयार छ।’
भारतले एक्लै उक्त लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले भने छिमेकमा शान्ति र स्थिरता हुनुपर्छ भन्ने भावानाका साथ नै भारतले छिमेकी पहिलो प्राथमिकतामा राखेको बताए। उनले भने,‘छिमेकमा अस्थिरता भयो भने भारतमा पनि अस्थिरता हुन्छ, भारतमा अस्थिरतमा भयो भने छिमेकी मुलुकमा पनि अस्थिरता हुन्छ, त्यसैले यो एक अर्को देशको लागि म्युच्युल ईन्ट्रेष्ट हो।’
कहिलेकाहिँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप लगाउने गरेको आफूले सुनेको भन्दै राजदुत रायले खण्डन गरे,‘यो त स्वयम् भारतको हितको विपरितमा छ, किनकि नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ नि, त्यसैले भारतले कहिलेपनि त्यस्तो अस्थिरता चाहँदैन्।’
‘नेपाल–भारतवीच खुल्ला सिमाना छ, जनता जनतावीच प्रगाढ सम्बन्ध छ, कुनै नदी नेपालबाट बगेपनि गंगामा मिसिन्छ, त्यसैले मलाई लाग्छ कि एक देश अर्को देशमा यस्तो अस्थिरता चाहन्छ भन्ने भावना कसैको मनमा पनि आउनै हुँदैन्,’ रेले भने।
प्रतिक्रिया दिनुहोस !