बंगलादेशका सुरक्षा अधिकारी र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ: बंगलादेशका सुरक्षा अधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको उद्धार र राहतमा बंगलादेशका सुरक्षाअधिकारीले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले बंगलादेशले छिमेकमा परेको संकटमा साथ दिएकोप्रति समेत खुशी व्यक्त गरे ।
भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा गत वर्ष गएको विनासकारी भूकम्पपछि बंगलादेश सरकार, सुरक्षा संयन्त्र र जनताले गरेको सहयोग, सद्भाव र समन्वयप्रति नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’
भेटमा प्रधानमन्त्रीले नेपाल र बंगलादेश दुवैले प्राकृतिक बिपत्तिको सामना गर्नु परिरहेको भन्दै उद्धार, राहत र पुननिर्माणमा एक–अर्काका अनुभव आदान–प्रदान गर्न नेपाल सरकार इच्छुक रहेको जानकारी दिए ।
भेटका अवसरमा बंगलादेशका सुरक्षा अधिकारीले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको भन्दै दुई देशको सम्बन्ध र बिपत्तिको सामनामा बंगलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न इच्छुक रहेको धारणा राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !